नागढुंगा सुरुङमा कंक्रिट लाइनिङ सम्पन्न

नागढुंगा सुरुङ: सिस्नेखोला–नागढुंगा सुरुङमार्गअन्तर्गतको मुख्य टनेल र क्रस प्यासेजमा कंक्रिट लाइनिङ (भित्ता र सिलिङको ढलान/कंक्रिटिङ)को काम सम्पन्न भएको छ ।

२६ सय ८८ मिटर लामो मुख्य टनेल, लगभग १८ मिटर लम्बाईका सात क्रस प्यासेज (मुख्य र रेस्क्यु टनेल जोड्ने सुरुङ) र रेस्क्यु टनेलका केही खण्ड गरेर कुल २८ सय १२ मिटर खण्डमा कंक्रिट लाइनिङ गरिएको हो ।

परियोजना कार्यालयले बुधबार सार्वजनिक गरेको एक रिपोर्टअनुसार कंक्रिट लाइनिङको काम शतप्रतिशत सकिएको छ ।

२५ सय ५७ मिटर लामो रेस्क्यु टनेलमा भने आवश्यकताअनुसार सीमित ठाउँमा मात्रै कंक्रिट लाइनिङ गरिएको छ ।

यसैगरी, सुरुङभित्र नाली (पानी बग्ने नहर) पनि यसअघि नै तयार भइसकेको छ । अब सुरुङभित्र सिभिल निर्माणतर्फ सडक (भुइँ) कंक्रिटिङ गर्ने काम बाँकी छ ।

सुरुङभित्रको सडकलाई कंक्रिटिङ गर्ने काम पनि सुरु भइसकेको परियोजनाका इन्जिनियर रमेश कोइरालाले जानकारी दिए ।

‘कंक्रिटिङ भने मुख्य र रेस्क्यु गरेर दुवै टनेल सडकमा हुनेछ । साथै, क्रस प्यासेजका सडकमा पनि कंक्रिटिङ गरिनेछ ।

यो काम सुरु भइसकेको छ,’ उनले भने, ‘दिनमा एक सय मिटरसम्म पनि सडक कंक्रिटिङ भइरहेको छ । रेस्क्यु टनेलमा एक लेन मात्रै सडक हुने भएकाले एकैपटकमा वारपार क्रंकिटिङ हुने गरेको छ ।

दुई लेन सडक हुने मुख्य टनेलमा भने पहिलो चरणमा सिंगल लेनलाई मात्रै कंक्रिटिङ गरिएको छ ।

त्यसले गर्दा करिब पाँच महिनामा कंक्रिटिङको सबै काम सम्पन्न हुनेछ ।’ उनका अनुसार सुरुङभित्रको सडकमा कालोपत्रे नभएर जापानिज प्रविधिको कंक्रिटिङ गरिनेछ ।

हालसम्म सुरुङको भौगोलिक अवस्था स्टेबल भइसकेको छ । तसर्थ, अब सुरुङमार्गभित्रका सबै काम धमाधम गर्न सकिने उनको भनाइ छ ।

कंक्रिटिङको काम सकिएपछि सुरुङमार्गभित्र अक्सिजनको मात्रा मिलाउने, कन्ट्रोल सिस्टम बनाउने, टेलिफोन जडान गर्ने, रेस्क्यु सेन्टर बनाउने, बिजुली जडान गर्ने, तापक्रम मिलाउनेलगायत काम गर्नुपर्छ ।

त्यसका लागि पनि आवश्यक तयारी भइरहेको उनको भनाइ छ ।

परियोजनामा मुख्यतः मुख्य र रेस्क्यु गरेर दुई सुरुङमार्ग हुनेछन् । पश्चिम धादिङको सिस्नेरीबाट सुरु भएको सुरुङमार्ग काठमाडौं नागढुंगामा निस्कनेछ ।

२६ सय ८८ मिटरको मुख्य सुरुङमार्ग ३ वैशाख र २५५७ मिटरको रेस्क्यु टनेल भने २२ साउन ०८० मा छिचोलिएको थियो ।

सुरुङमार्ग सञ्चालन गर्न दुवैतर्फ ‘कन्ट्रोल बिल्डिङ’ पनि बन्दै छन्, त्यसको सिभिल निर्माणको काम पनि सकिएको छ ।

हाल त्यसको फिनिसिङ र भवनभित्र आवश्यक उपकरणहरू जोड्ने काम भइरहेको छ ।

यस्तै, सुरुङको पूर्वी प्रवेशद्वारलाई पृथ्वी राजमार्गसँग जोड्न बलम्बुमा १२८ मिटर लामो ओभरपास निर्माण गरिँदै छ ।

त्यसको निर्माण पनि अन्तिम चरणमा रहेको छ । ओभरपास र पूर्वी प्रवेशद्वारको बिचमा आवश्यकताअनुसार सडक पनि निर्माण भइसकेको छ ।

यस परियोजनाअन्तर्गतका १२ मध्ये ११ संरचना यसअघि नै निर्माण सम्पन्न भएका छन् ।

तीनवटा अन्डरपास र चारवटा बक्स कल्भर्ट (माथि गाडी, तल पानी बग्ने संरचना) निर्माण सम्पन्न भइसकेको छ ।

एउटा अन्डरपास र तीनवटा पुल पनि निर्माण सम्पन्न भइसकेको छ  । अब ओभरपासको निर्माण सम्पन्न हुन बाँकी छ ।

इन्जिनियर कोइरलाले सामान्य ढंगले निरन्तर काम गर्न पाएमा २०८२ को दसैँअघि परियोजना तयार हुने बताए । ‘ठेक्का म्याद थप गरेर २५ अक्टोबर ०२५ (८ कात्तिक ०८२) सम्म पु¥याइएको छ ।

तर, हाम्रो कार्यतालिकाअनुसार त्यो म्यादभन्दा कम्तीमा पनि दुई महिनाअघि नै काम सकिने छ । तर, सामान्य ढंगले निरन्तर रूपमा काम भने गर्न पाउनुपर्छ,’ उनले भने, ‘स्थानीयको अवरोधलगायतका समस्या आएमा भन्न सकिन्न ।

तसर्थ, परियोजना समयमै सम्पन्न गर्न स्थानीय बासिन्दा तथा सबै निकायले उत्तिकै सहयोग गर्न आवश्यक छ ।’

परियोजना निर्माणको समग्र भौतिक प्रगति ८०.५० प्रतिशत पुगेको छ ।

वित्तीय प्रगति भने ७४.७० प्रतिशत पुगेको आयोजना कार्यालयले उपलब्ध गराएको  प्रगति प्रतिवेदनले देखाएको छ ।

त्यो अनुसार अब ८ कात्तिक ०८२ भित्र परियोजना निर्माणको बाँकी काम सम्पन्न गर्नुपर्नेछ ।

Visit homepage : www.eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *