नक्कली लाइसेन्समा इन्जिनियरसहित चारजना दोषी ठहर

पाँच सयभन्दा बढी नक्कली लाइसेन्स वितरण भएको विषयमा यातायात कार्यालय एकान्तकुनाका इन्जिनियरसहित चारजना दोषी ठहर भएका छन् ।

बिहीबार विशेष अदालतले यो मुद्दाका १७ प्रतिवादीमध्ये १३ जनालाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो ।

विशेषका प्रवक्ता तथा उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार कार्यालयका मेकानिकल इन्जिनियर विजयराज गिरीलाई सबैभन्दा बढी सजाय सुनाइएको छ ।

उनलाई १६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

उनले सरकारी कागजात सच्याएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐनको दफा ११ बमोजिम सजाय सुनाइएको हो ।

यस कसुरमा अधिकतम दुई वर्ष कैद हुन सक्ने प्रावधान छ ।

गिरीसमेतले सवारीचालक अनुमतिपत्र नवीकरण गर्ने सम्बन्धमा आफ्नो जिम्मेवारी अन्तर्गतको कार्यसम्पादन गर्न प्राप्त गरेको अख्तियारीको दुरुपयोग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो ।

आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ को साउन र भदौमा समेत गरी पाँच सय ३३ जना व्यक्तिका नाममा नक्कली लाइसेन्स जारी भएको थियो ।

१४ महिना अवधिमा तीनजना बिचौलियाको सक्रियतामा कार्यालयबाट नक्कली लाइसेन्स जारी भएको पुष्टि भएपछि उनीहरूलाई समेत सजाय सुनाइएको छ ।

विशेषका अनुसार हरिभक्त श्रेष्ठ, दीपक विश्वकर्मा र बाबुराम शर्मा भन्ने उद्धवबहादुर खत्रीलाई विशेषले दोषी करार गरेको हो ।

उनीहरू तीनैजनालाई जनही १५ हजार रुपैयाँ जरिवाना र आठ–आठ महिना कैद सजाय सुनाइएको छ ।

उनीहरू तीनैजना मिली विविध कारणले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारीचालकको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र गैरकानुनी रूपमा नवीकरणको बाटोबाट नयाँ व्यक्तिका नाममा जारी गरेका थिए ।

उनीहरूका साथै अन्य बिचौलिया र कार्यालयका कर्मचारीको पनि संलग्नता रहेको दाबीसहित अख्तियारले गत वर्ष ७ असारमा मुद्दा दायर गरेकोमा बाँकीले भने सफाइ पाएका छन् ।

यस मुद्दाका प्रतिवादीहरू गणेश अधिकारी, कमल स्याङ्तान, अच्युतप्रसाद फुयाल, प्रकाश कार्की, रेजु भट्टराई, लक्ष्मी श्रेष्ठ, श्यामसुन्दर चौधरी, माया सेठी, रोशन राजभण्डारी, रिचा श्रेष्ठ, नरेश शाक्य, राजुभाइ कुस्मा र सम्बरबहादुर कार्कीले सफाइ पाएका हुन् । कुस्मा र सम्मर तत्कालीन कार्यालय प्रमुख हुन् ।

सफाइ पाउनेमध्येका स्याङ्तान सहायक स्तर पाँचौँ र फुयाल सिनियर मेकानिकल इन्जिनियर हुन् ।

बाँकी रहेका प्रकाश, भट्टराई, राजभण्डारी, चौधरी, लक्ष्मी, सेठी र रिचा कम्प्युटर अप्रेटर पदमा कार्यरत थिए ।

बिचौलियाको अभियोग लागेका गणेश अधिकारी र नरेन शाक्यले पनि सफाइ पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *