झोलुङ्गे पुल बनेपछि सिरहा र धनुषाका स्थानीयलाई आउजाउमा सहज

सिरहाको सिरहा नगरपालिका–१९ का मुगालाल यादव ९२ वर्षका भए ।

उनले बाल्यकालदेखि नै कमला नदीमाथि पुल बन्छ भनेर सुन्दै आएका थियो तर यतिका वर्षसम्म पनि मोटर गुड्ने पक्की पुल बनेको छैन । त्यही छेउमा अहिले भने झोलुङ्गे पुल बनेको छ ।

शनिबार त्यही पुल हेर्न आएका ९१ वर्षीय यादव जीवनको उत्तरार्द्धमा कमला नदीमाथि झोलुङ्गे पुल देख्दा दङ्ग हुन्थे ।

खुसी हुँदै उनले भने, ‘झोलुङ्गे पुल भए पनि वर्षौंपछिको सपना पूरा भएको छ । अब जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।’

यादवले कमला नदीमा पुल नहुँदा आफ्नो पुस्ताले भोगेको सास्तीबाट नयाँ पुस्ताले मुक्ति पाएको देखेर निकै हर्षित भएको सुनाए ।

‘सिरहा घर भए पनि ससुराली, मावली, दिदीबहिनी, फुपू, इष्टमित्रहरुको सिमापारी धनुषामै छ । तर अहिलेसम्म हत्केलामा ज्यान राखेर ओहोरदोहोर गर्नुपर्थ्यो ।

झोलुङ्गे पुलले वर्षौदेखिको त्यो समस्या समाधान गरेको देख्दा निकै रमाइलो पनि लागिरहेको छ’, यादवले खुसी व्यक्त गरे ।

नदीले वारि र पारि बनाएका मनहरुलाई पुलले भौतिकरुपमै जोडेको उनको भनाइ छ ।

उनी मात्रै होइन, सिरहा नगरपालिका–१३ का महावीर ठाकुर पनि निकै प्रफुल्ल थिए । स्वास्थ्य समस्या र विपत्तीकाबेला सहजरूपमा अस्पताल जान सजिलो हुने भन्दै उनी खुसी छन् ।

‘पुल नहुँदा वर्षायामको समयमा धेरै समस्या थियो । जोखिम मोलेर डुङ्गाबाट ओहोरदोहोर गर्दा पनि समस्या थियो ।

त्यही डुङ्गाबाट जाँदा दर्जनौँ नागरिकले ज्यान गुमाइसकेका छन् । अब भने सहज हुने भयो । निकै खुसी लागिरहेको छ ।’

जनकनन्दनी गाउँपालिका–४ खजुरीका रमेश साह मोटरसाइकलमा झोलुङ्गे पुल हुँदै वारपार गर्न पाउँदा अहिलेसम्म पाएका सबै दुःख बिर्सिएको बताउँछन् ।

‘कमला नदीमाथिको पक्की पुलबाट कहिले वारपार गर्न पाइने हो टुङ्गो नै छैन । तर झोलुङ्गे पुलबाट यति चाँडै आउजाउ गर्न पाउँदा पहिले भोगेका सास्ती सबै भुलाएको छ’, साहले खुसी हुँदै भने ।

धनुषा र सिरहा सीमानामा पर्ने कमला नदीमा झोलुङ्गे पुल निर्माण भएपछि अहिले यहाँका नागरिकलाई कमला नदीको अवरोध छिचोल्न सहज भएको छ ।

अहिले मोटरसाइकल चालक र पैदल यात्रुहरुले यो पुलबाट वारपार गर्ने गरेका छन् ।

धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल र सिराहा नगरपालिका—१३ मलहनियाँलाई जोड्न कमला नदीमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो ।

अहिले पुल हेर्नका लागि मात्रै पनि यहाँ दैनिक सयौँ मान्छे आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *