पुल नहुँदा उत्तरी भेगका नागरिकलाई जोखिमपूर्ण झोलुंगे पुल तथा फड्केको सहायतामा नदी वारपार गर्ने गरेका छन्। पुल भत्किएपछि स्थानीय निराश बनेका छन्।
निर्माणाधीन पुल भत्किएपछि वर्षौंदेखिको सपना पुनः अधुरोमा परिणत भएको अर्का स्थानीय दिलीप राईले बताए।
‘पुल बनेपछि गाउँमा विकास लहर आउला भन्ने थियो। तर, पुल क्षतिवक्षत भयो। अब कहिले बन्ने हो पत्तो छैन’, उनले सुनाए।
ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल भत्किएसँगै स्थानीयको सहजरूपमा आवतजावत गर्ने चाहना पनि निराशामा परिणत भएको छ।
स्थानीयले ठेकेदार, ठेकेदार कम्पनीको लापरबाही र इन्जिनियरको कमजोरीका कारण पुल भत्किएको आरोप लगाएका छन्।
पूर्वाधार विकास कार्यालय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानबिन गर्नुपर्ने माग स्थानीयको माग छ।
यस्तै, ठेकेदार कम्पनीको लापरबाहीकै कारण निर्माणका क्रममा भाँचिएको दक्षिणी कावाखोलाको पुल वर्षदिन बित्दासमेत पुनःनिर्माण हुन सकेको छैन।
हतुवागढी गाउँपालिका २, रानीबास र रामप्रसादराई गाउँपालिका ५, मानेभञ्याङ जोड्ने उक्त पुलको पुनः निर्माण अझै अलपत्र बनेको छ।
गत मंसिर ११ गते प्रदेश १ सरकारको पहलमा स्विस सरकारको ५ करोड अनुदान सहयोगबाट बनेको उक्त पुलको पुनःनिर्माणमा वेवास्ता देखिएको छ।
०७८ चैत मसान्तसम्म काम सक्ने सर्वपक्षीय निर्णय भए पनि अहिलेसम्म उक्त पुल बेवारिसे अवस्थामै रहेको छ। वर्षदिन बितिसक्दा पनि पुलको निकासमा कसैले पनि चासो नदेखाएको स्थानीयको गुनासो छ।
‘काम गर्दा गल्ती हुन्छ। के कारणले भाँचियो भन्ने विषयमा खोजी त गर्नुपर्ला नि ! तर भत्किएको यतिका समयसम्म पुल बेवारिसे हुँदा सास्ती बढेको छ।’ स्थानीय नारायणप्रसाद निरौलाले भने।
भोजपुर मानेभञ्ज्याङ रानीबास घोडेटार सडकखण्डमा पर्ने उक्त पुलको काम २०७७ असार मसान्तसम्म सक्नुपर्ने प्रावधान थियो।
तर, समयमा सम्पन्न नभएपछि पछि पुनः म्याद थपिए पनि निर्माण सामाग्री नै गुणस्तरहीन भएकाका कारण पुल भाँचिएको प्राविधिक अनुगमनले देखाएको छ।