असुरक्षित विमानस्थल, राष्ट्रिय सुरक्षामाथि प्रश्न

गएको शनिबार भन्सार विभागका अधिकारीहरूलाई फ्लाई दुबईको उडान मार्फत एक व्यक्ति चार किलो सुन लिएर आइरहेको सूचना आयो ।

उडान नम्बर एफजेड ११३३ मा सवार ती व्यक्तिको पासपोर्ट नम्बर सहितको विवरण अधिकारीहरूले पाएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार, बिजनेस क्लासको टिकट मार्फत नेपाल आउँदै गरेका ती व्यक्तिलाई विमानमै जाँच गर्ने तयारी थियो ।

विमानका कर्मचारी र भन्सार अधिकारीहरूबीच सूचना आदानप्रदानमा समन्वय हुन नसक्दा उनलाई जाँच गर्न ढिलाइ भयो ।

तर, केहीबेर ढिलै भए पनि गएर खानतलासी लिंदा सुन भेटिएन । भन्सारका अधिकारीहरूका अनुसार, बिजनेस क्लासबाट आउनेलाई लिन छुट्टै गाडी आउने हुँदा त्यस मार्फत सुन निकाल्ने गरेको आशंका थियो ।

ती व्यक्तिको ट्राभल हिस्ट्री समेत शंकास्पद रहेको अधिकारीहरू बताउँछन् ।

‘तर, सुन नभेटिएपछि केही भन्न सक्ने अवस्था भएन, यद्यपि यसमा अनुसन्धान गरिरहेका छौं’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने ।

ओर्लिनेवित्तिकै सेटिङमा अवैध सामान लुकाइन थालेपछि अहिले भन्सार कार्यालयले विमानभित्रै छिरेर अपरेशन चलाउन थालेको छ ।

यद्यपि, विमानभित्र समेत अवैध सामान फेला पार्न कठिन बन्दै गएको अधिकारीहरू दाबी गर्छन् ।

विमानबाट बाहिर निस्किनेवित्तिकै तस्करीमा संलग्नले कसरी ‘कन्साइनमेन्ट’ व्यवस्थापन गर्छन् भन्ने २२ मंसिर २०८० मा बरामद भएको १४ किलो सुन प्रकरणको अनुसन्धानले पनि देखाउँछ ।

विमानस्थल भन्सार कार्यालयले विशेष सूचनाका आधारमा चन्द्र घलेलाई १४ किलो सुन सहित पक्राउ गरेको थियो ।

पक्राउ परेपछि भन्सारका अधिकारीहरूसँग बयान दिंदै उनले अध्यागमन पुग्नुअगावै शौचालयमा लुकाएर सुन बाहिर लैजाने गरेको बयान दिएका थिए ।

अन्तर्राष्ट्रिय उडानका विमान अवतरण भएपछि अध्यागमन जाँचसम्म पुग्नुअघि कुनै किसिमको जाँच हुँदैन ।

विदेशी नागरिकको हकमा ‘अन–अराइभल’ भिसा दिने कक्ष पनि त्यहीं छ । त्यहीं कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन (सीआईपी) का रूपमा छुट्टै कक्ष छ ।

त्यही कक्षमा रहेको शौचालयमा सुन छाड्ने गरेको उनको बयान थियो ।

पुरुष शौचालयभित्र रहेको अपाङ्गमैत्री क्याबिनमा एउटा सानो ढोका छ । त्यही ढोकाको चाबी लिएर उनी यूएई गएका थिए ।

फर्किंदा त्यहाँ सुन राख्न लगाइएको बयान घलेले दिएका थिए । सुन राखेपछि यसको यकिन गर्ने जिम्मेवारी प्लम्बर शेरबहादुर बस्नेतलाई थियो ।

विमानस्थलका अर्का कर्मचारी रमेश देउलाले दिएको जिम्मेवारी अनुसार यकिन गरेपछि एसी मेकानिक सहित विमानस्थलका अरू कर्मचारीको सहयोगमा शव बाहिर निकाल्ने बाटो मार्फत सुन निकाल्ने गरेको भेटिएको छ ।

विमानस्थलमा ओर्लिने वित्तिकै कुनै जाँचमा पर्नुअघि जो–कोही सहजै पुग्न सक्ने स्थानको शौचालयभित्र त्यस्तो संरचना बनाउनु आफैंमा शंकास्पद रहेको अधिकृतहरू बताउँछन् ।

‘शौचालयमै स्टोररुम जस्तो कोठा अर्को पनि छ, सबै हेर्दा संरचना नै तस्करमैत्री देखिन्छन्’, यो मामलामा अनुसन्धान गरेका एक अधिकृत भन्छन् ।

अध्यागमन विभागका अधिकारीहरू भने आफ्नो डेस्कमा पुग्नुअघि शौचालय रहेकाले त्यहाँ नजान भन्न आफूहरूले नमिल्ने बताउँछन् ।

‘शौचालयमै नजानु भन्ने कुरा पनि भएन’ विभागका एक अधिकारी भन्छन्, ‘फेरि सीआईपी कक्ष भनेको अध्यागमनको कार्यक्षेत्रभित्र पर्ने विषय पनि होइन ।’

विमानस्थल जस्तो संवेदनशील स्थानबाट भएको तस्करीको छानबिनका लागि सुन अनुसन्धान समितिले २१ दिनभन्दा बढीको क्लोज सर्किट (सीसी) क्यामरा फुटेज पनि पाएन ।

अझ रोचक त एउटै गिरोहले १३८ किलो सुन ल्याइरहँदा भीआईपी कक्षतर्फ जाने सिंढीको सीसी क्यामराले काम गरेको थिएन ।

जबकि, सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका लेकबहादुर तामाङले भीआईपी कक्षहुँदै माथिल्लो तलाको शौचालयमा गएर राधाकृष्ण श्रेष्ठलाई ‘सामान’ बुझाउने गरेको बयान दिएका थिए ।

नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीको भनाइमा शौचालयमा लुकाएर सुन कटाउने शैली पुरानै हो ।

‘तर तस्करले किन निर्धक्क भएर त्यही शैली प्रयोग गरिरहेका छन् भन्ने कुरा सबैले मनन् गर्नुपर्ने हो’ उनी भन्छन्, ‘यसमा कुनै न कुनै रूपमा संरचनाको पनि दोष छ ।’

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी पनि सुवेदीको भनाइसँग सहमत छन् ।

‘राज्य संयन्त्रका संरचना नै तस्करीलाई प्रोत्साहन गर्ने किसिमको छ’ उनी भन्छन्, ‘बेलाबेला ढोक्सा थापेका बेला मात्रै सुन समातिने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *