बागलुङबाट भैरहवा हिँडेकाे बस पोखरामा दुर्घटना

सडकमा गुडिरहेको बसको ब्रेक फेल भई दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने बसमा सवार तीनजना घाइते भएका छन्।

बागलुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाकोनाकस्थित सडकमा गुडिरहेको अवस्थामा अचानक ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

ब्रेक फेल भएपछि बस सडकको दायाँ किनारमा रहेको माटोको ढिस्कोमा ठक्कर खान पुगेको थियो।

बसले ठक्कर दिँदा भारत घर भएकी पैदलयात्री ३० वर्षीया इस्रावती कुमारी रहेकी छिन्।

पोखरा २७ स्थित लेखनाथमा जारी लेखनाथ महोत्सवमा बाटा (गमला) बिक्री गर्न जाँदै गर्दा महोत्सवस्थलको गेटअगाडि उनलाई बसले ठक्कर दिएको थियो।

बसको ठक्करपछि घाइते भएकी उनलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चेकजाँचको क्रममा मृत घोषणा गरिएको थियो।

घटनामा परी बसका तीन यात्रु घाइते भएका छन्।

घाइते हुनेहरूमा तनहुँको म्याग्दे गाउँपालिका– ८ घर भएका ३६ वर्षका रामजी गन्धर्ब र उनकी श्रीमती ३० वर्षकी विष्णु गायक तथा पर्साको दिप नगरपालिका– १ की ४६ वर्षीया चिजमाया गन्धर्व रहेका छन्।

उनीहरूमध्ये रामजीको बायाँ खुट्टामा, विष्णुको दायाँ हातमा र चिजमायाको दायाँ खुट्टामा चोट लागेको छ।

बसमा २० जना सवार रहेकामा अन्य यात्रुको अवस्था सामान्य रहेको छ।

घटनापछि खटिएको इलाका प्रहरी कार्यालय सिसुवाको टोलीले बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *