फ्रान्समा चिनियाँ विद्युतीय कारले सहुलियत नपाउने

काठमाडौं- फ्रान्समा चिनियाँ कम्पनीले उत्पादन गरेका विद्युतीय कारले सहुलियत नपाउने भएका छन्।

फ्रान्स सरकारले हालै अद्यावधिक गरेको नियमअनुसार सहुलियत पाउने विद्युतीय कारको सूचीबाट चिनियाँ ब्रान्डका कारलाई हटाएको हो।

योसँगै युरोपेली बजारमा आक्रामक बजार विस्तारको योजनामा रहेको बीवाईडीलाई धक्का लागेको छ।

युरोपेली युनियनले नै चिनियाँ विद्युतीय कारप्रति कठोर हुने संकेत यसअघि नै गरिसकेको छ। त्यसैको उपजका रुपमा फ्रान्सको उक्त निर्णयलाई मान्न सकिन्छ।

यसअघि फ्रान्समा सबै किसिमका विद्युतीय कारलाई सहुलियत अनुदान दिइँदै आएको थियो। नयाँ व्यवस्थाअनुसार कम मूल्यका चिनियाँ विद्युतीय कारले अनुदान पाउने छैनन्।

फ्रान्स सरकारले ‘स्टेट बोनस कार्यक्रम’ अन्तर्गत फ्रान्स र यूरोपमा बनेका विद्युतीय कारलाई प्राथमिकतामा राख्दै अनुदान पाउने कारको सूची नै प्रकाशित गरेको छ।

सूचीमा नअटाएका विद्युतीय कारले फ्रान्स सरकारले दिने सहुलियत अनुदान पाउने छैनन्।

यसअघि फ्रान्स सरकारले सार्वजनिक गरेको सूचीमा चिनियाँ कम्पनीले उत्पादन गरेका कार पनि थिए।

चिनियाँ कम्पनीले बनाएका कारमात्र होइन चीनमा बनेको टेस्लाको कार पनि फ्रान्स सरकारले अनुदान पाउने सूचीमा राखेको छैन।

फ्रान्सले टेस्लाले चीनमा उत्पादन गरेर त्यहाँ बिक्रीका लागि ल्याएको मोडल थ्री विद्युतीय कारलाई सूचीबाट हटाएको हो। यसअघि उक्त कार अनुदान पाउन योग्य सूचीमा थियो।

फ्रान्स सरकारको अनुदान पाउन योग्य कारको सूचीमा स्टेलेन्टिस ग्रपअन्तर्गतका ब्रान्डले बनाउने २४ कार र रेनोका ५ कार रहेका छन्।

अमेरिकी ब्राण्ड टेस्लाको मोडल वाई भने अनुदान पाउने मोडलमा परेको छ। यो कार भने जर्मनीमा बनेको हो।

फ्रान्स सरकारले विद्युतीय कारको प्रयोग बढाउन वार्षिक १ अर्बभन्दा बढी युरो खर्च गर्ने घोषणा गरेको छ।

जसमा एउटा कार किन्नेलाई ७ हजार युरोसम्म अनुदान दिने उल्लेख गरिएको छ।

चीनमा विद्युतीय कार उत्पादनमा कोइलालगायतको प्रयोग गरिएकाले कार्बन उत्सर्जनमा उसको योगदान बढी छ।

त्यसैले त्यस्ता कार युरोपमा ल्याएर बिक्री गरिरहेकाले पनि फ्रान्स सरकारले चिनियाँ विद्युतीय कारलाई शून्य प्रदूषण सवारीमा दिइने अनुदान कटौती गर्नु परेको फ्रान्सका राष्ट्रपति इम्यानुअल माइक्रोनले बताएका छन्।

वातावरणीयलगायत विषयका कारण आफ्नो निर्याय विश्व व्यापार संघठनको मर्म अनुरुप नै भएको विश्वास फ्रान्सको छ।

चीनसँगको व्यापार घाटा फराकिलो हुँदै गएकाले ईयूले गएको सेप्टेम्बरदेखि चीनबाट आइरहेको सामानमा अनुसन्धान गरिरहेको छ।

चीनबाट कमसल विद्युतीय कार आइरहेको प्रारम्भिक निष्कर्ष ईयूको छ। त्यसैले ईयूले युरोपमा बनेका विद्युतीय कारको प्रयोगलाई प्राथमिकता दिने बताइसकेको छ।

ईयूको चिनियाँ विद्युतीय सवारीलाई नियमन गर्ने सैद्धान्तिक सहमति र फ्रान्सको पछिल्लो निर्णयले युरोपमा आक्रामक बजार विस्तार गर्ने रणनीति बनाएको बीवाईडीलाई ठूलो झड्का लागेको छ।

नेपालजस्तो देशमा बदनियतपूर्ण तवरले व्यापार बढाइरहेको बीवाईडीलगायत चिनियाँ ईभीलाई फ्रान्सले भने अनुदानमै रोक लगाएको छ।

फ्रान्सको यो निर्णयलाई युरोपेली देशहरुले पच्छ्याए भने बीवाईडीहरु युरोपमा अघोषित प्रतिन्धित हुनेछन्।

बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्सले ल्याएको ई सिक्स विद्युतीय कारमा कर छली गरेको पुष्टि गर्दै सरकारले उसलाई सवा करोड रुपैयाँ थप करसहित जरिबाना तिराइ सकेको छ।

भारतमा पनि बीवाईडीले सीकेडी ल्याएर एसेम्बल गर्दा बदमासी गरेको बारेमा त्यहाँको आयकर विभागले अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *