काठमाडौं- नेपालमा सार्वजनिक यातायातमा विलासी गाडी ट्याक्सीको सुरुवात विसं २०२९ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सुरु भएको मानिन्छ।
काठमाडौं आउने विदेशीका लागि सार्वजनिक यातायातको रुपमा प्रयोग गर्न सकिने गरी ट्याक्सी सेवा सुरु भएको थियो।
त्यतिबेला सार्वजनिक सवारीको विस्तार हुन सकेको थिएन।
अहिले समय बदलिए पनि ट्याक्सी चढ्नु आज पनि आर्थिक हिसाबले आम मानिसका लागि सहज विषय होइन तर पनि ट्याक्सी सार्वजनिक यातायातको रुपमै रहेको छ।
सरकारले सोहीअनुसार सवारीको मापदण्डदेखि भाडा निर्धारणसम्म गर्दै आएको छ।
सुरुवाती दिनमा टोयोटाको कोरोला कार ट्याक्सीका रुपमा काठमाडौंका सडकमा कुद्थे। टोयोटा कोरोला कार आज नेपाली बजारमा बिक्री हुन छाडेको छ। यो कार बिक्री नहुनुको कारण प्रतिस्पर्धा र महँगो मूल्य हो।
२०४८ सालमा आइपुग्दा नेपालमा ट्याक्सीका रुपमा टोयोटा कोरोला युग सकिएर ८ सय सीसीसम्म इन्जिन क्षमताका कारलाई ट्याक्सीका रुपमा दर्ता गर्न दिन थालियो।
३० वर्षपछि अहिले पुनः ट्याक्सीमा बदलाव मात्र आएको होइन ‘पावरट्रेन्ड’ नै फेरिएको छ।
अब नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने होइन ब्याट्रीबाट चल्ने विद्युतीय कार ट्याक्सी हुन लागेका छन्। यसले ट्याक्सीमा नयाँ युगको सुरुवात गरेको छ।
देश संघीय संरचनामा गइसकेपछि बागमती प्रदेश सरकारले आफ्नो प्रदेशमा वातावरणमैत्री सार्वजनिक यातायात चलाउन प्राथमिकता दिने नीति लियो।
सोहीअनुसार बागमती सरकारले करिब दुई वर्षअघि विद्युतीय ट्याक्सीसम्बन्धी नयाँ मापदण्ड ल्याएको थियो। मुख्यगरी यही मापदण्डले हो विद्युतीय ट्याक्सी युगतर्फको ढोका उघारेको।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले प्रदेश सरकारले ल्याएको मापदण्डअनुसार केही महिनापछि नै विद्युतीय सेडान एक्सप्रेस टी उपभोक्तालाई हस्तान्तरण सुरु गरेको थियो।
विद्युतीय ट्याक्सी मापदण्डअनुसार नयाँ तथा सट्टा दर्ता हुने ट्याक्सी सेडान र विद्युतीय नै हुनुपर्ने व्यवस्था छ।
ट्याक्सी पुराना भएको र समयानुकूल परिवर्तन हुन नसकेको भन्दै धेरैतिरबाट आवाज उठिरहेको थियो।
सानो आकारको ह्याचब्याक कार ट्याक्सी भएकाले साँघुरा भएको, नियमित सफाइ नगर्दा गन्हाउने भएको गुनासोसमेत यात्रुहरूबाटै आउन थालेको थियो।
तर अब भने सेडान सेगमेन्टको फराकिलो, बिजुलीबाट चल्ने, आवाज तथा धुवाँ नआउने र आरामदायी सहरी यात्रामा टाटा एक्सप्रेस टी खडा भएको छ।
करिब ८ महिनाअघिदेखि उपत्यकाका सडकमा टाटा एक्सप्रेस टीले ट्याक्सी सेवा दिइरहेका छन्।
ट्याक्सी चढ्ने उपभोक्तामात्र होइन चालकहरू पनि भिन्न र सन्तोषपूर्ण अनुभव गरिरहेका छन्।
सुरुवाती लागत र मासिक किस्ता पेट्रोल ट्याक्सीभन्दा केही महँगो भएपनि पेट्रोलबाट हुने बचत र राम्रो आम्दानीले विद्युतीय ट्याक्सी चालकहरूलाई बढी उत्साहित तुल्याइरहेको छ। यो चालकहरूकै भनाइबाट भएको पुष्टि हो।
Post Views: 328