‘कावासोतीको सुक्खा खोला पुलबाट पश्चिमतर्फ करिब चार सय मिटर विवाद भएको छ’ झाले भने, ‘एक महिनाभित्र विवाद भएको ठाउँबाहेक कावासोती क्षेत्रको सबै ठाउँमा कालोपत्र सकिन्छ ।’
आगामी फागुनबाट डण्डा पश्चिमतर्फ र गैँडाकोटको थुम्सी जङ्गल पूर्वतर्फको भागमा कालोपत्रको काम अगाडि बढाइने ठेक्का व्यवस्थापक झाको भनाइ छ ।
हालसम्म आयोजनाको पूर्वी खण्डको काममा करिब ४४ प्रतिशत प्रगति भएको जनाउँदै आगामी असारसम्म ७० प्रतिशत काम सकिने छ ।
‘दोस्रोपटक म्याद थप भएको समय २१ जुलाइमा सकिन्छ, त्यतिबेलासम्म पूर्वी खण्डको ७० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ’, झाले भने, ‘हामीले विसं २०८१ को चैत मसान्तसम्म ९० प्रतिशत भौतिक प्रगति सक्नेगरी कार्ययोजना बनाएर निर्माणलाई तीव्रता दिएका छौँ ।’
सडक विस्तारका लागि अहिले कुनै अवरोध छैन । गैँडाकोटमा बिजुलीको पोला सार्ने काम भइरहेकाले त्यस क्षेत्रमा कालोपत्र गर्न ढिलाइ भएको छ । त्यसबाहेक अन्य ठाउँमा अवरोध छैन ।
विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडसँग ठेक्का सम्झौता भएर चैत ८ बाट सडक विस्तारको काम सुरु गरिएको थियो ।
नारायणगढ–बुटवल सडक विस्तार आयोजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले व्यवस्थित तरिकाले सडक विस्तारको काम भइरहेको बताए ।
‘पछिल्लो समय पूर्वी खण्डमा कल्भर्ट निर्माण, ठूला पुल निर्माण, तथा सडक किनारमा पर्खाल लगाउने काम भइरहेका छन्’, उनले भने, ‘सडक विस्तारको कामलाई तोकिएकै समयभित्र सम्पन्न गराउन हामीले निर्माण कम्पनीलाई दबाब दिँदै आएका छौँ ।’
यस खण्डमा निर्माण हुने २२ साना पुलमध्ये अधिकांश पुलको निर्माण सकिएको छ । ठूला पुल निर्माणको काम पनि धमाधाम भइरहेको छ ।
दुई पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बाँकी पुलमा पनि काम भइरहेको छ ।
यस सडक खण्डको कुल बजेट नौ अर्ब १५ करोड ७२ लाख ४६ हजार रहेकामा ८५ प्रतिशत ऋण सहयोग एसियाली विकास बैंक (एडिबी)ले उपलब्ध गराउने छ ।
नारायणगढ–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक पर्दछ ।
यस खण्डको सहरी क्षेत्रमा चारलेन सडकको अतिरिक्त १७ दशमलव चार किलोमिटर सडकमा सर्भिस लेन निर्माण गरिनेछ भने दाउन्नेको चार दशमलव एक किलोमिटर उकालोमा तीनलेनको सडक विस्तार हुनेछ ।
सडक विस्तारका लागि आयोजनाको पूर्वी खण्डमा ३६ हजार दुई सय ३२ रुख काटिएका छन् ।