सडकले किसानलाई सहज

चितवन : नाम्लोमा थाप्लो अनि घण्टौं हिँडेर बजार पुग्ने बाध्यता सम्झिँदा चितवनको पहाडी भेगका कृषकलाई कहाली लाग्छ। सडक नहुँदा तरकारी र फलफूल बारीमै कुहिन्थे।

आम्दानी नहुँदा घर खर्च चलाउनै मुस्किल भएपछि बिदेसिएको पीडा छ। अहिले सडक बनेको छ।

घरको छेवैमा मोटर गुड्छ। घण्टांै हिँडेको बाटो सडक बनेपछि २० मिनेटमै पुगिन्छ। नाम्लोमा भारी बोकेको दिन उनीहरूलाई कथा जस्तो लाग्न थालेको छ।

सडक बनेपछि स्थानीयलाई कृषि उपज बजारसम्म पुर्‍याउन सहज भएको छ। पहिलेपहिले दिनभर हिँडेर सामान बोकेर बजार झर्थे। अहिले गाउँमै पुगेको गाडीमा सामान लगेर बेचेर फर्किन्छन्।

उनीहरूले अहिले थाप्लोको नाम्लो बिर्सिएका छन्। बाटो बनेपछि डोको र नाम्लो हटेको माझगाउँका खड्गराम गुरुङले बताए।

‘बाटोले गर्दा थाप्लोमा नाम्लो हाल्न परेको छैन’, उनले भने, ‘गाडीमा सामान लैजान पाएका छौं। जति फलेको छ बजारमा बेच्न पाएका छौं।’

काउले सुन्तलाको पकेट क्षेत्र हो। यहाँ अचेल बोटमै सुन्तला किन्नका लागि व्यापारी गाडी लिएर किसानका बगैंचामा पुग्न थालेका छन्।

माझगाउँका किसानले सुन्तला बिक्रीको पैसाले चन्दा उठाएर सडकमा सहयोग गरेका थिए।

फिस्लिङबाट इच्छाकामना बाटो पुर्‍याउँदा स्थानीयले ४८ लाख रुपैयाँ उठाएका थिए। थोरैमा ५ हजारदेखि १० लाख रुपैयाँसम्म चन्दा दिएका थिए।

माझगाउँकै इन्द्रबहादुर गुरुङले सडक निमार्णको सुरुवाती दिनमा गाउँलेले सरकारले भन्दा बढी पैसा उठाएको बताए।

‘त्यसबेला गाविसले ५० हजार हाल्दा हामीले लाखौं उठाएका थियौ’, उनले भने, ‘केही नहुनेले पनि सुन्तला बेचेर पैसा हालेको बाटो हो यो। अहिले सबै गाउँ जोडिएको छ। जहाँ भए पनि हामी जस्ता किसानले सास फेर्न पायौं त्यही खुसी हो।’

गाउँमा मोटरबाटो पुगेपछि स्थानीयमा खुसीको सीमा छैन। घण्टौंसम्म हिँड्न नपर्ने मात्र होइन, उत्पादित उब्जनीले बजार पाएपछि आम्दानीको स्रोत बढेको छ।

गाउँमा उत्पादित तरकारी सहजै बजार लैजान सकेका छन्। फिस्लिङदेखि शक्तिखोरसम्म बनेको ४९ किलोमिटर सडकले आसपासका बासिन्दाको जीवनशैली फेरिएको छ।

यो सडक ग्रामीण कनेक्टिभिटी इम्प्रुभ प्रोजेक्टमार्फत निर्माण गरिएको हो।

तोलाङका कुमार गुरुङले बारीको तरकारी बेचेर जीवन चलाउन पाएको बताए।

‘करिब चार घण्टा हिँडेर फिस्लिङ पुग्न पथ्र्यो। अहिले घरैबाट तरकारी उठाउँछ’, उनले भने, ‘बाटो बनेपछि धेरै सहज भएको छ।’

पृथ्वी राजमार्गको फिस्लिङ हुँदै तोलाङ, बाँसपुर, मायाटार, उपरदाङगढी, शक्तिखोर सडक बनेको छ। बिहानै आउने बोलेरो गाडीले उत्पादन बजार लगिदिन्छ।

बजार भाउ पाएपछि खुसी भएका कृषक खेतीपातीमा अग्रसर भएका छन्। सडक जोडिएसँगै माथिल्लो काउले, भोटो गाउँ, तोवाङ, हपनीलगायत ११ गाउँका स्थानीयलाई सहज भएको छ।

‘हिजो भारी बोकेर एक भारी तरकारी मात्रै बिक्री हुन्थ्यो। अहिले करोडौंको तरकारी र फलफूल देशभर पुगेको छ’, इच्छाकामना गाउँपालिकाका प्रवक्ता नरबहादुर नेपालले भने, ‘राजमार्गमा मात्रै हुने कुखुरापालन डाँडाडाँडामा पनि छ। यो सडकले फेरेको जीवन हो।’

चितवनको इच्छाकामनाको फिस्लिङस्थित पृथ्वी राजमार्गमा जोडिएको उक्त सडक कालिका नगरपालिकाको शक्तिखोर जोडिन्छ।

मुख्य गरेर इच्छाकामनाको विकट वडा १, २, ३ का स्थानीय लाभान्वित भएका छन्। यो सडक ‘सिंगल लेन’ को हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *