पोखरा । केही समयअघि पोखरामा भएको एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरा-मुग्लिन सडक निर्माणमा भएको ढिलाइप्रति व्यङ्ग्य गरे, ‘राजमार्ग छिट्टो बनाउनेमा भारतीय कम्पनीले रेकर्ड राखेको छ । यो सडक कसले बनाइरहेको छ ? किन ढिलो भइरहेको छ ?’
उनको व्यङ्ग्य चीनप्रति थियो । पोखरा–मुग्लिनको दुवै खण्डको ठेक्का चिनियाँ कम्पनीले पाएको छ । दुईवटै ठेक्कामा लक्ष्यअनुसार प्रगति भएको छैन ।
पूर्वीखण्डमा सन्तोषजनक काम भए पनि पश्चिम खण्डमा कामको गति निकै सुस्त छ ।
काम सुस्त भएपछि सरकारले ठेक्का तोड्ने तयारी ग¥यो । अघिल्लो महिना अन्तिम पटक भनेर एक महिनाका लागि निर्माण कम्पनीलाई कामको प्रगति बढाउन मौका दिइयो ।
एक महिनाका लागि दिइएको समयमा निर्माण कम्पनीले कामको रफ्तार केही बढाएको छ ।
तनहुँको जामुनेदेखि पोखरासम्मको सडकमा अहिलेसम्म १४ प्रतिशत मात्रै काम भएको छ ।
स्तरोन्नतिका लागि सम्झौता अनुसारको समय ठ्याक्क ९ महिना बाँकी छ । तर कोरोना अवधिको ६ महिना थप हुँदा १५ महिनासम्मको सहुलियत ठेकेदार कम्पनीले पाउँछ ।
सम्झौता अनुसारको मितिमा काम सक्न रातदिन काम गरिरहेको निर्माण कम्पनीका कन्ट्रयाक्ट म्यानेजर फाङ इफाले बताए ।
चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले यसको ठेक्का पाएको थियो ।
‘३ वर्षको ठेक्कामा कोभिडको ६ महिना सहुलियत पाइन्छ । करार अनुसारको ९ महिना पनि बाँकी छ ।
१५ महिना भनेको ठुलो अवधि हो,’ उनले भने, ‘बिजुली र खानेपानीको लाइनका कारण केही समस्या अझै छ । नत्र कटिङ लगभग सकिएको छ ।
रुख हटाउने काम पनि सकियो । अब चाहिँ कामको रफ्तार बढ्छ ।’
यद्यपि बिजुली र खानेपानीको लाइन भने अझै हट्न नसकेको उनले सुनाए । ‘यो खण्डमा खानेपानीका ४३ वटा समिति छन् । उनीहरूसँग छुट्टाछुट्टै सहमति गरेका छौँ ।
विद्युत् प्राधिकरणले हामीबाट पैसा लगिसक्यो तर पोल हटाइदिएको छैन,’ उनले अघि भने, ‘सरासर काम गर्न पाएको भए यस्तो समस्या आउँथेन । पाइलैपिच्छे नयाँ नयाँ समस्या छ ।
सबै हल गर्दै काम गरेका छौँ ।’ पूर्व तयारी विना नै ठेक्का प्रक्रियामा गएका कारण कामको चरणमा हन्डर थपिएको छ । पश्चिम खण्डको तुलनामा पूर्वतर्फको काम बढी छ ।
एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा बन्न लागेको ३९ किलोमिटरको दोस्रो खण्डमा मात्रै ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ खर्च हुनेछ ।
निर्माणमा कम्पनीको बदनियत नरहेको सहायक कन्ट्रयाक्ट म्यानेजर जियान युचुले बताए ।
उनका अनुसार चिनियाँ स्टाफ ५० जना छन् भने नेपाली इन्जिनियर सहित ६० जना खटिएका छन् । फिल्डमा ४ सय २५ जना कामदारले काम गरिरहेका छन् ।
कामदारसँगै उपकरण पनि निकै वृद्धि भैसकेको उनले सुनाए । उनका अनुसार एक्साभेटर ४० वटा छ भने लोडर १० वटा छ । ग्रेडर ६ वटा छ भने पानीको ट्याङ्कर ८ वटा छ ।
‘पहिलेको भन्दा ३ गुणा कामदार र उपकरण बढेको छ । सब बेस ८० हजार मिटर क्युव र बेस ३० हजार मिटर क्युव भण्डार गरिएको छ ।
२० किलोमिटर पिच गर्न आवश्यक पर्ने सामग्री तयार छ,’ उनले भने, ‘यो भनेको काम नगर्ने नियत होइन ।
हेडक्वार्टरबाटै नोक्सान भए पनि काम पूरा गर्नु भनेर आदेश आएको छ ।’
निर्माण कम्पनीले भने यो ठेक्काबाट घाटा लाग्ने प्रक्षेपण गरेको छ । घाटा रकम चाहिँ निकालिएको छैन ।
Post Views: 408