कहिले होला तल्लु–छहरेबगरमा बेलिब्रिज निर्माण ?

जाजरकोट– भेरी करिडोरभित्र पर्ने नलगाड नगरपालिका–१२ तल्लु बगर र आठबिसकोट नगरपालिका–६ छहरेबगर गोतामकोट रुकुम पश्चिम जोड्ने ठूली भेरी नदीको पुल सम्झौताअनुसार २०७९ असार १५ गते हस्तान्तरण भइसक्नुपर्ने थियो ।

उक्त पुलको ठेक्का हिम सगरमाथा खड्का कृष्ण जेभी वसुन्धरा काठमाडौंले २०७८ पुस १६ गते सम्झौता गरेर २०७९ असार १५ सम्म सम्पन्न गरी बुझाउने सहमति रहेको थियो ।

उक्त पुल निर्माण गर्न भ्याटबाहेक तीन करोड ४७ लाखको लागत सम्झौता भएको भेरी करिडोर सडक आयोजनाका सूचना अधिकारी दत्त लामाले जानकारी दिए ।

ढिलो गरी निर्माण कार्य सुरु गरिएको उक्त बेलिब्रिज २०८० वैशाख ७ गते दिउँसो आधा लच्किएर भेरीमा मेसिनसहित खस्दा दुई जनाको घटनास्थलमा मृत्यु भयो भने सात जना कामदार घाइते भएका थिए ।

अघिल्लो आर्थिक वर्षमै पुल निर्माण गरिसक्ने भनिए पनि हालसम्म पुलको काम सुरु नै हुनसकेको छैन ।

निर्माण व्यवसायी र आयोजना बीचमा कुरा नमिल्दा पुल निर्माणले गति लिन नसकेको हो ।

पुल भासिएपछि उत्पन्न भएको अन्योलतालाई हल गर्न भेरी करिडोरको सडक निर्माणको जिम्मेवारी लिएको यति बिल्डर्सले पुल निर्माणका लागि सहजीकरण गर्दै बैंक ग्यारेन्टी राखेर हिम सगरमाथा खड्का कृष्ण जेभी वसुन्धरा काठमाडौंलाई पुल निर्माण गर्न सहयोग गरेको यतिका गोरखबहादुर केसीले जानकारी दिए ।

पुल पूरै निकालेर पुनः जोडनुपर्ने अवस्था रहेको केसीले जानकारी दिए । पुलमा जोडिएका नट बोल्ड खिया लागेर काम नलाग्ने भएकाले नयाँ बदल्नुपर्ने उनको भनाइ छ ।

अहिले निर्माण टोली गएर समस्या आएको ठाउँमा अध्ययनको काम भइरहेको उनले बताए ।

सामान, नटबोल्ड सबै आयोजनाले दिनुपर्ने भए पनि आयोजनाले उक्त सामान उपलब्ध नगराउँदा बजारमा पाइने नटबोल्ड प्रयोग भए पनि समस्या आएको जेभीले आरोप लगाएको छ ।

हाल भाँच्चिएको, फुटेको र काम नलाग्ने सबै सामग्रीको ठाउँमा नयाँ सामग्री आयोजनाले उपलब्ध गराएमा दुई महिनाभित्र पुल निर्माण हुने केसीले जानकारी दिए ।

जलप नेपालले पुलका सामान जोडका लागि जिम्मेवारी लिएको छ । यतिले कामको सहजीकरण गर्ने मौखिक सहमतिअनुसार काम भइरहेको केसीले बताए ।

काम सम्पन्न भएपछि भुक्तानी हिम सगरमाथा खड्का कृष्ण जेभी वसुन्धरा काठमाडौंको नाममा हुनेछ ।

यो निर्माण कम्पनी छेडागाड नगरपालिका जाजरकोटका नगरप्रमुख रत्नबहादुर खडकाको हो ।

आयोजनाबाट समयमै सामान पाएमा काम छिटो हुने यतिका केसीले जानकारी दिँदै भने, ‘अलपत्र परेको काम छिटो होस् भनेर हामीले जिम्मेवारी लिएका छौं, हाम्रो ठाउँमा विकास निर्माणका काम समयमै नहुँदा समस्या भएको छ ।

सबै मिलेर तत्काल हल गर्नुपर्दछ । जाजरकोट, डोल्पा र रुकुम पश्चिमको साझा समस्या भएकाले हामी निरन्तर काममा लाग्नुपर्छ ।’

हिम सगरमाथा खड्का कृष्ण जेभी वसुन्धरा काठमाडौंका प्रतिनिधि बुद्धिबहादुर खत्रीले आफूले नसकेर हैरान हुँदा यतिलाई जिम्मेवारी दिएको बताएका छन् ।

उनले ६ महिनाभित्र पुल निर्माण गर्छु भन्दै ठेक्कामा लिएर लामो समयसम्म अलपत्र पारेका थिए ।

सुरुमा सडक डिभिजन चौरजहारी मातहातमा रहेको यो सडक हाल भेरी करिडोर सडक आयोजना नामले छुट्टै कार्यालय स्थापना भएर काम भइरहेको छ ।

आयोजना सञ्चालन भएको ठाउँमा निर्माण हुने सबै पुल अन्य निकायले समेत भेरी करिडोरलाई जिम्मेवारी दिएका छन् ।

भेरी करिडोरअन्तर्गत जाजरकोटबाट डोल्पा सडक खण्डको ११८ किलोमिटर सडक पर्छ ।

२०७४ चैत २५ गते नेपाली सेनाको निगरानीमा ट्र्याक खोल्ने काम सकेर नेपाल सरकार सडक विभागलाई हस्तान्तरण गरी डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो ।

अहिले यही पुल निर्माण नहुँदा तीन जिल्लाको सडक यातायात अलग बन्न पुगेको छ ।

डोल्पाबाट आएका सवारीसाधन रुकुम पश्चिमको छहरेबगर रोखिने र जाजरकोट पट्टीका यातायातका साधन तल्लुमा रोकिने गरेका छन् । यो पुल कहिले निर्माण हुन्छ भन्ने अझै अन्योल कायम छ ।

पक्की पुल निर्माण हुन समय लाग्ने भएकाले तत्काल समस्या समाधान गर्न बेलिब्रिजको योजनासहित काम थालिएको भए पनि निर्माण व्यवसायीको चरम ढिला सुस्तीका कारण दैनिक समस्या हुँदै आएको छ ।

भेरी करिडोरले पनि आवश्यक सामान उपलब्ध गराउनका लागि ध्यान नदिएको सरोकारवाला बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *