ध्रुव थापा, अध्यक्ष
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्ष करण चौधरी बन्ने भएका छन् ।
सोमबार नाडाका वर्तमान अध्यक्ष ध्रुव थापा र पूर्व अध्यक्ष सहितको व्यापक छलफल पश्चात चौधरीलाई अध्यक्ष बनाउने सहमति भएको हो ।
सहमति अनुसार अध्यक्षका अर्का आकांक्षी आकाश गोल्छा अर्को कार्यकालमा अध्यक्ष बन्ने छन् भने अर्का आकांक्षी प्रकाश कपुरी पनि ब्याक भएका छन् ।
उनलाई पनि आगामी कार्यसमितिमा समेटिने छ भने अन्य पदहरु पनि सहमतिमै बनाउने प्रयास हुनेछ ।
यो भन्दा पहिले वर्तमान अध्यक्ष ध्रुव थापा निर्वाचनबाटै चुनिएर आएका थिए । त्यतिबेला करण चौधरी समेत उम्मेदवार थिए ।
अहिले पनि निर्वाचन हुने अवस्था बन्दै गएको अवस्थामा धेरैले सहमति हुनु पर्ने आवाज उठाइरहेका थिए ।
अटोमोबाइल व्यवसाय हाल कठिन अवस्थामा रहेको र मन्दी छाएको समयमा निर्वाचनमा होमिनु उपयुक्त नभएको धेरैको भनाइ थियो ।
सहमतिले व्यवसायीहरुमा खुसी ल्याएको देखिएको छ ।
सहमतिको प्रयासमा साथ दिने सम्पूर्णलाई अध्यक्ष थापाले आभार व्यक्त गर्दै भनेका छन्, ‘नाडामा सहमति गराउनका लागि हामीले बिगतबाटै प्रयास गर्दै आइरहेका हौं ।
जुन प्रयास आज सफल भएको छ ।’ अहिले सबै व्यवसायीहरु अप्ठ्यारो परिस्थितिमा रहेको र यो विषम परिस्थितिमा एकताको सन्देश दिन आफूहरु सफल भएको उनले बताए ।
यो सहमति सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुको लागि खुसीको खबर भएको नाडा महासचिव सुरेन्द्र कुमार उप्रेती बताउँछन् ।
‘निर्वाचन नगरौं भन्ने सबै साथीहरुको भावना थियो । सोही भावनाको कदर भएको छ,’ उनले भने ।
संस्थाको गर्व र प्रतिष्ठा बढाउन नाडामा भएको सहमतिले विशेष योगदान गरेको अध्यक्षमा सर्वसम्मत भएका करण चौधरीले बताए । ‘सहमतिले नाडाको गर्व र प्रतिष्ठा बढाउने काम भएको छ,’ उनले भने ।
नाडा सदस्यहरुलाई एक सन्देश दिंदै उनले लेखेका छन्, ‘अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै नाडाले एकीकृत कार्यसमिति गठन गर्नु अपरिहार्य छ ।
विद्यमान चुनौतिहरूले चुनावी प्रक्रिया मात्र नभई एकताको माग गर्दछ।
हाम्रा सदस्यहरूको दिगोपन र समग्र रूपमा अटोमोटिभ ब्यवसायीका लागि हाम्रो सामूहिक शक्ति महत्वपूर्ण छ।
मलाई विश्वास छ कि यो समाचारले उत्साह ल्याउँछ, र म यो रोजिएको बाटोमा लाग्दा प्रत्येक सदस्यको समर्थन खोज्छु।
हाम्रा आदरणीय अग्रजहरूको आशीर्वाद र सबै सरोकारवालाहरूको समर्थनले, म नाडालाई अझ ठूलो उचाइमा लैजान प्रतिबद्ध छु।
यस प्रयासमा तपाईंको समर्थन अमूल्य छ, र म हाम्रा सामु रहेका चुनौतीहरूलाई सम्बोधन गर्न सहयोगी रूपमा काम गर्न तत्पर छु।’
नाडाको ४७औं साधारणसभा आगामी पुस २० र २१ गते हुँदैछ ।
Post Views: 368