हुलाकी राजमार्गको पुल अधुरै

सप्तरी । हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलाको पुल अधुरै छ ।

निर्माणको जिम्मा लिएका ठेकेदार सम्पर्कविहीन भएपछि पुल कहिले बन्ने टुङ्गो छैन ।

‘लामा बागमती निर्माण सेवा’ले २०७१ सालमा पुल निर्माण सुरु गरेको हो ।

सदरमुकाम राजविराज जोड्ने सो पुल निर्माण समयमा सम्पन्न नभएका कारण आवतजावत जोखिमपूर्ण बनेको छ ।

निर्माण सेवाले हालसम्म रु दुई करोड १३ लाख भुक्तानी पाइसकेको छ ।

पुल निर्माण सम्पन्न गर्न बाँकी रहेको काम ठेकेदारले अलपत्र छाड्दा  आवतजावत गर्न सर्वसाधारणलाई समस्या भएको छ ।

निर्माण कम्पनीको ढिलाइ र आयोजना कार्यान्वयन एकाइको बेवास्ताले गर्दा उक्त पुलको समयमै निर्माण सम्पन्न हुन नसकेको हो ।

उक्त पुलको हालसम्म ८१ दशमलव २३ प्रतिशत काम सम्पन्न भएको छ ।

यहाँ समयमा पुल निर्माण सम्पन्न नभएका कारण वर्षाको समयमा खोलामा अत्यधिक बाढी आउने गरेकाले आवतजावतमा अवरोध हुने गरेको तिरहुत गाउँपालिका–२ का विजय यादवले बताए ।

उनी भन्छन्, “समान्य वर्षा भएपछि कालिया खोलाबाट चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडी पूर्णरुपमा बन्द हुने गरेको छ ।”

राजविराजबाट जिल्लाको पूर्व जोड्ने तिरहुत गाउँपालिका, कन्चरुप नगरपालिका, सप्तकोशी नगरपालिका र उदयपुर जिल्लासम्मका छोटो दूरी प्रयोग गर्ने उक्त बाटोमा पुल निर्माण अवरोधका कारण समस्या भएको छ  ।

पुल निर्माणमा ढिलाइ गरेपछि हुलाकी सडक निर्माणको जिम्मा लिएको बज्रगुरु निर्माण सेवाले ठेक्का लिएको करिब दुई किलोमिटर सडक  कालोपत्रको काम पनि हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *