‘उपहारमा कार पाउनुभयो’ भन्दै पुलिससँगै ८२ हजार रुपैयाँ ठगी

आम नागरिक ठगीमा पर्दा उजुरी गर्न जाने निकाय हो प्रहरी संगठन तर, प्रहरी कर्मचारीलाई नै कसैले ठगी गर्न सक्छ भने सर्वसाधारणको अवस्था के होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

भारतको उत्तर प्रदेश राज्यको बान्दामा ठगहरुको एउटा गिरोहले पुलिसलाई नै ठगी गरेको छ ।

सो क्षेत्रका एसपी अंकुर अग्रवालका अनुसार ठगीमा संलग्न एक सदस्यले एक जना प्रहरीलाई फोन गरेर ‘तपाईंको छोराले एउटा प्रतियोगितामा सफारी गाडी जितेको छ’ भन्दै फोन गरेका थिए ।

ठगीमा संलग्न गिरोहका तर्फबाट ती प्रहरीलाई आधार कार्ड, बैंक खाता र केही अन्य डिटेल मागिएको थियो ।

प्रतियोगितामा जितेको गाडी पठाउन आवश्यक प्रक्रिया पूरा गर्नका लागि भन्दै विभिन्न डकुमेन्ट र आवश्यक जानकारी चाहिएको भनेर उनीहरुले ती पुलिसलाई विश्वासमा पारेका थिए ।

तर केही समयपछि ती प्रहरीको बैंक खाताबाट ८२ हजार रुपैयाँ निकालिएको म्यासेज मोबाइल फोनमा आयो ।

त्यसपछि ती प्रहरीले आफ्नो बैंक खाता बन्द गरेर एसपी अंकुर अग्रवाललाई घटनाबारे जानकारी गराएको बताइएको छ ।

एसपी अग्रवालले तत्कालै कारबाही प्रारम्भ गर्दै झारखण्डमा बस्दै आएका ४ जनाविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएका छन् । ठगीमा संलग्न ती चार जना झारखण्ड निवासी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *