बन्द हुने अवस्थामा द्रुत बस सेवा

करिब एक महिनाअघि (३ असोजमा) तामझामका साथ सुरु भएको द्रुत बस सेवा बन्द हुने अवस्थामा पुगेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रत्नपार्कस्थित शान्तिवाटिकामा विशेष कार्यक्रम आयोजना गरी सेवा सुरु गरे पनि सडकसहितका पूर्वाधार व्यवस्थापनमा चासो नदिँदा बन्द हुने अवस्थामा पुगेको हो ।

द्रुत बस सेवामा आबद्ध व्यवसायीका अनुसार सडक पूर्वाधार र ट्राफिक व्यवस्थापन कमजोर भएका कारण बस सञ्चालन गर्न नसक्ने अवस्था आएको हो ।

यातायात व्यवसायी र सरकारबीच २५ वटा बस द्रुत सेवाअन्तर्गत सञ्चालन गर्ने उल्लेख छ ।

तर, सरकारले आवश्यक पूर्वाधार व्यवस्थापन नगरिदिएको व्यवसायीहरूको भनाइ छ ।

सरकारले ३ असोजदेखि भक्तपुर सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन गरेको थियो ।

तर, झन्झट धेरै भएको, डेडिकेटेड लेनमा गुडाउन नपाएको, ट्राफिकले सहजीकरण नगरेका कारण व्यवसायीले बस चलाउन छाडेका छन् ।

उनीहरूले पूर्वाधार र ट्राफिक व्यवस्थापन सहज भए मात्रै पुनः सेवा दिन तयार हुने माग यातायात व्यवस्था विभागसँग राखेका छन् ।

आवश्यक पूर्वाधारविना नै हतारमा सुरु गरेको दु्रत बस सेवाले यतिवेला पाइला–पाइलामा अवरोध व्यहोरिरहेको छ ।

जसका कारण अन्य बस र द्रुत बस गन्तव्यमा पुग्ने समय उस्तै–उस्तै छ । अन्य सवारीसाधन प्रयोगकर्ताले एम्बुलेन्सलाई बाटो छाडिदिए पनि दु्रत बसलाई छेक्ने गरेका छन् ।

ट्राफिकले पनि सहजीकरण नगरिदिएको व्यवसायीहरू नै बताउँछन् । यसअघि सरकारले सुरु गरेको रात्रिकालीन बस सेवा पनि पूर्वाधार र संरचना निर्माण गर्न नसकेर बन्द भएको थियो ।

तर, त्यही अवस्था दु्रत बस सेवामा पनि देखिन थालेको छ । सरकारले ट्राफिक व्यवस्थापन र सहज पूर्वाधार निर्माण नगरिदिए यस किसिमको बस सेवा दिन तयार नहुने अडान व्यवसायीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *