स्वाइपन इनर्जी विद्युतीय स्कुटरको सर्भिसिङ तथा मर्मतका लागि स्थापना गरिएको सर्भिस सेन्टर हो।
यहाँ आएका जुनसुकै ब्रान्डका विद्युतीय स्कुटरको मर्मत हुने मेकानिक्स निकेश खड्गीले बताए।
साथै, यो सर्भिस सेन्टर राफ्ट, लुवान, कोमाकी, मेटा, याडिया, सेभेन जी पियोर, साइगा नेपाल लगायत ७ वटा ब्रान्डको आधिकारिक सर्भिस सेन्टर पनि हो।
कम्पनी बन्द भएका वा बजारबाट हराएका ब्रान्डका स्कुटरहरू (जस्तै पियोर, राफ्ट, बिएमसी, लिफान आदि) को पनि यहाँ मर्मत भइरहेको छ।
यस सर्भिस सेन्टरका दुई शाखा छन्—ललितपुरको बालकुमारी खरिबोट र काठमाडौंको चाबहिल कालोपुल।
बालकुमारी शाखा अफिस हो भने कालोपुलमा सर्भिसिङका लागि बढी स्कुटर आउने भएकाले त्यहाँ मेकानिक्सको संख्या पनि बढी छ।
आवश्यकताअनुसार बालकुमारीमा पनि थप मेकानिक्स पठाइने गरिएको छ।
पार्ट्सहरू केही आयातकर्ताबाट र केही आफैं भारत तथा चीनबाट मगाइने भएकाले धेरैजसो स्कुटरको मर्मत सम्भव हुने सञ्चालक पाण्डव पौडेलले बताए।
पौडेलका अनुसार यहाँ लिथियम आयन ब्याट्रीको रिपेयर पनि हुन्छ। उनले लिड एसिड ब्याट्रीको लाइफ साइकल ४००–५००, लिथियमको करिब १२००, लिथियम आयन फस्फेट (LFP) को करिब ३००० र ब्लेड ब्याट्रीको ६००० साइकलसम्म हुनसक्ने जानकारी दिए।
उनका अनुसार लिड एसिड ब्याट्री भारी हुने भएकाले आयात खर्च महँगो पर्छ र मूल्यअनुसार टिकाउ नहुने समस्या पनि छ।
लिथियम ब्याट्री भने सानो, भरपर्दो र आयात खर्च कम हुने भएकाले गुणस्तरका आधारमा तुलनात्मक रूपमा राम्रो विकल्प मानिन्छ।
भविष्यमा सोडियम ब्याट्री पनि आउने भएकाले इभी स्कुटर अझ टिकाउ र सस्तो हुने अपेक्षा गरिएको छ।
स्वाइपन इनर्जीमा महिनामा करिब ४०० वटा स्कुटरको मर्मत हुने गरेको बताइएको छ।
सुरुका वर्षहरूमा गुणस्तरहीन स्कुटर र ब्याट्री आयात हुँदा बजारमा नकारात्मक धारणा बने पनि अहिले राम्रो गुणस्तरका इभीले पुनः बजारमा राम्रो छाप छोडिरहेको पौडेलले बताए।
उनका अनुसार नेपालमा इभीको सर्भिसिङ अझै सहज छैन, तर बिस्तारै जुनसुकै ब्रान्डको इभी मर्मत सुविधा बढ्दै जानेछ।
Post Views: 26