लोकमान्य गोल्छा पोल्याण्डद्वारा सम्मानित

भारतका लागि पोल्याण्ड गणतन्त्रका कार्यवाहक राजदूत (Chargé d’Affaires a.i.) महामहिम डा. पियोटर आन्तोनी श्विताल्स्कीले काठमाडौंस्थित हायात सेन्ट्रिक सोल्टीमोड होटलमा आयोजित औपचारिक समारोहमा मानार्थ वाणिज्यदूत जनरल श्री लोकमान्य गोल्छालाई पोल्याण्ड गणतन्त्रको प्रतिष्ठित ‘अर्डर अफ मेरिट’ को अफिसर क्रस प्रदान गर्नुभएको छ।

पोल्याण्ड गणतन्त्रको नेपालमा स्थायी दूतावास नभएकाले नेपालसम्बन्धी कूटनीतिक तथा वाणिज्यदूत सेवाहरू भारतको नयाँ दिल्लीस्थित पोल्याण्ड दूतावासमार्फत सञ्चालन हुँदै आएको छ। सो दूतावासले नेपालमा रहेका पोलिश नागरिकहरूलाई सहयोग प्रदान गर्नुका साथै नेपाल–पोल्याण्डबीचको सहकार्य र आपसी सम्बन्ध प्रवर्द्धन गर्दै आएको छ।

अर्डर अफ मेरिट पोल्याण्डले विदेशी नागरिकलाई प्रदान गर्ने उच्च सम्मानहरूमध्ये एक हो।

यो सम्मान पोल्याण्ड राज्यप्रति असाधारण योगदान पुर्‍याउने तथा अन्तर्राष्ट्रिय सहकार्य र आपसी समझदारीलाई सुदृढ बनाउने व्यक्तिहरूलाई प्रदान गरिन्छ।

यसअघि सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्पका बेला पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप पोल्याण्डका राष्ट्रपति महामहिम आन्द्रेज दुदाद्वारा श्री गोल्छालाई ‘नाइट्स क्रस अफ द अर्डर अफ मेरिट’ प्रदान गरिएको थियो।

यसपटक प्रदान गरिएको अफिसर क्रस श्री गोल्छाले कोभिड–१९ महामारीका कठिन समयमा देखाएको नेतृत्व, साथै नेपालमा रहेका पोलिश नागरिकहरूलाई वर्षौंदेखि निरन्तर रूपमा प्रदान गर्दै आएको सहयोग र सेवाको उच्च मूल्याङ्कनस्वरूप प्रदान गरिएको हो।

समारोहमा सम्बोधन गर्दै महामहिम डा. श्विताल्स्कीले नेपाल–पोल्याण्ड सम्बन्ध सुदृढ गर्न श्री गोल्छाले पुर्‍याएको दीर्घकालीन योगदान, प्रतिबद्धता र जनस्तरको सम्बन्ध प्रवर्द्धनमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।

सम्मान ग्रहण गर्दै श्री गोल्छाले यो सम्मानलाई नेपाल र पोल्याण्डबीचका साझा मूल्य, आपसी सम्मान र दीर्घकालीन मित्रताको प्रतीकका रूपमा व्याख्या गर्नुभयो।

यो सम्मान मानवीय सेवा, निरन्तर प्रतिबद्धता र नेपाल–पोल्याण्ड सम्बन्धको सुदृढीकरणको महत्वपूर्ण प्रतीकका रूपमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *