हेटौँडामा राजमार्ग विवाद

राजमार्ग विस्तारका क्रममा घर र व्यवसायिक संरचना मुआब्जाविना हटाउने सरकारी तयारी तीव्र भएपछि बुधबार पूरा हेटौँडा बजार आन्दोलित भयो।

घरधनी र व्यवसायीहरू बिहानै बुद्धचोकमा भेला भएर दिनभर विरोधमा उत्रिए।

उनीहरूले सडक डिभिजन, जिल्ला प्रशासन र उपमहानगरमा ज्ञापनपत्र बुझाउँदै मुआब्जा नदिई संरचना हटाउने निर्णयको कडा विरोध गरे।

आन्दोलनकारीहरूले आफ्नो जग्गा–घर लालपुर्जा र सरकारी नापी मिलेको दाबी गर्दै, कर तिरेर अनुमतिपत्र लिएर बनाइएका घर भत्काउन खोज्नु अन्यायपूर्ण भएको भनाई राखे।

बजार क्षेत्रका सबै पसल बन्द गर्दै घरधनी तथा व्यवसायीहरूले प्रदर्शन गरे।

यसैबीच, सरकारले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ क्षेत्रका दायाँ–बायाँ २५–२५ गजभित्रका संरचना भत्काउने तयारी गरेको छ। मंसिर २० देखि काम सुरु हुने बताइएकाले घरधनीहरू लगातार आन्दोलित छन्।

जिल्ला प्रशासनले विस्तार रोक्नेहरूलाई कारबाही गर्ने चेतावनी दिँदै सूचना जारी गरेको छ। केही व्यवसायीहरूले पसल खाली गर्दै ‘सेल’ राखेका छन् भने केही घरधनी अझै प्रतिरोधमा रहेका छन्।

सडक डिभिजनका अनुसार करिब ५३१ संरचना हटाइने छ र सर्वोच्च अदालतको आदेशअनुसार मुआब्जा नदिइकन मार्ग सीमा खाली गराउन सकिने जनाएको छ।

यता, दशकौँदेखि लालपुर्जासहित बस्दै आएका घरधनीहरूले राज्यले आफ्नो अधिकार सुरक्षित गरी मुआब्जा दिनैपर्ने माग दोहोर्याइरहेका छन्।

राजमार्ग विस्तारको समय नजिकिँदै जाँदा घरधनी र सरकारबीचको तनाव बढ्दै गएको छ र आन्दोलनका कारण हेटौँडाका आर्थिक गतिविधि पनि प्रभावित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *