ईभी स्कुटरको बिक्री बढे पनि रिसेल भ्यालु ठप्प

नेपाली बजारमा विद्युतीय स्कुटर (ईभी) को आयातसँगै बिक्री बढे रिसेल भ्यालु (पुनः बिक्री मूल्य) ठप्प छ।

ईभी स्कुटरमा महँगा पार्टस् र ब्याट्रीको आयु कम हुने भएकाले यसको रिसेल भ्यालु ‘ठप्प’ भएको हो।

रिजाल रिकन्डिसन हाउसका सविन रिजालले ईभी बाइक तथा स्कुटरको ब्याट्रीमा वारेन्टी कम हुने भएकाले रिकन्डिसन हाउसले भ्यालुएसन नगरेको बताउँछन्। ‘ईभी बाइक तथा स्कुटरको ब्याट्रीमा वारेन्टी कम हुन्छ।

यसको पार्टस पाउन कठिन र महँगो हुने भएकाले यसको रिसेल भ्यालु गर्ने गरेको छैन,’ रिजाल भन्छन्, ‘साधारणतया ईभीमा भएको ब्याट्रीमा १ देखि ३ वर्षको वारेन्टी दिएको हुन्छ।

रिकन्डिसन हाउसमा आउँदासम्म त्यो स्कुटरको ब्याट्रीमा समस्या आइसकेको हुन्छ।’ ईभी सेकेन्ड ह्यान्डको व्यापारमा रिस्क हुने भएकाले रिकन्डिसन हाउसमा नराखेको उनको भनाइ छ।

बजारमा ईभी स्कुटरको रिसेल भ्यालु ठप्प हुनाले स्कुटरमा प्रयोग भएको ब्याट्री र यसको महँगो पार्टपुर्जा हो।

ईभी स्कुटरको ब्याट्रीको वारेन्टी एकदमै कम हुन्छ। साथै, यसमा प्रयोग हुने मोटर, कन्ट्रोलर जस्ता मुख्य पार्टपुर्जाको मूल्य पेट्रोल स्कुटरको तुलनामा निकै महँगो हुन्छ।

यदि, वारेन्टी अवधिपछि यी पार्टसमा कुनै समस्या आएमा मर्मत खर्च धान्न नसकिने गरी बढ्छ। नेपालमा ईभी ब्रान्डहरू धेरै भए पनि उनीहरूको डिलर सञ्जाल र दक्ष मेकानिकको उपलब्धता ज्यादै सीमित छ।

सोरुम एक ठाउँबाट अर्काे ठाउँमा सरिरहने वा नयाँ कम्पनीले सर्भिस सेन्टर विस्तार गर्न नसक्दा ग्राहकले आफ्नो स्कुटर बिग्रेपछि आधिकारिक पार्टपुर्जा र मर्मत सेवा पाउन कठिन हुन्छ। जसका कारण पनि रिकन्डिसन हाउसमा ईभी स्कुटर पाउन मुस्किल हुन्छ।

ईभी दुई पांग्रे सवारीमा भएको ब्याट्रीमा कम्पनीले १ वर्षदेखि ३ वर्षसम्मको वारेन्टी दिएका हुन्छन्। कम्पनीले ब्याट्रीमा दिएको वारेन्टीको समय सकिएपछि यसको अवस्था के हुन्छ? कसरी फेर्न मिल्छ वा फेर्नै पर्दैन? फेर्न परे कति खर्च लाग्छ? त्यस्तै विषयमा आम मानिसको चासो रहेको छ।

ब्याट्री विद्युतीय सवारी साधनको इन्जिन हुन्। विद्युतीय सवारीको माग बढेसँगै तिनीहरूमा प्रयोग हुने ब्याट्रीको मूल्य घट्दै गएको छ। ब्याट्री प्रतिस्थापनको लागत स्कुटरमा भएको ब्याट्रीको क्षमताअनुसार फरक हुन्छ। लिड-एसिड ब्याट्रीद्वारा सञ्चालित धेरैजसो नयाँ इलेक्ट्रिक स्कुटरहरू कम्तिमा दुई वर्षको ब्याट्री वारेन्टीको साथ आउँछन्।

यदि, ब्याट्री फेर्न पर्‍यो भने प्रतिस्थापनको लागत ५० हजारदेखि एक लाख ४० हजार रुपैयाँसम्मे हुन्छ। तर, यो मूल्य घट्न वा बढ्न सक्छ। नयाँ ईभी किन्दा महँगो पर्ने र केही वर्षपछि बेच्दा ब्याट्रीका कारण यसको रिसेल भ्यालु लगभग ‘ठप्प’ भएको अवस्था छ। यसले गर्दा ईभी प्रयोगकर्ता एक्सचेन्जको सुविधाबाट बञ्चित हुने दोहोरो मारमा परेका छन्।

कम्पनीहरूले एक्सचेन्ज गर्न नमान्दा उपभोक्ता निरास

ईभी प्रयोगकर्ताले आफ्नो पुरानो स्कुटर बेच्न वा नयाँ मोडलमा अपग्रेड गर्न चाहे कम्पनीहरुले एक्सचेन्ज सुविधामा बेवास्ता गर्ने गरेको ईभी प्रयोगकर्ताहरुको गुनासो छ।

उपभोक्ताले ईभी स्कुटर बिक्री गरी अपग्रेड गर्नु परे वा एक्सचेन्ज गर्नुपरेमा सेकेन्ड ह्याण्ड पसलमा बिक्रीको लागि लैजान कम्पनीले सुझाव दिने ईभी प्रयोगकर्ता दुर्गा अधिकारी बताउँछिन्।

‘अहिले बजारमा पेट्रोल स्कुटरका कम्पनीले नियमित रूपमा एक्सचेन्ज अफरहरु दिने गरे पनि आफूले बिक्री गरेको स्कुटर एक्सचेन्ज गर्न वा फिर्ता लिन मान्दैनन्,’ अधिकारी भन्छिन्, ‘कम्पनीले स्कुटर एक्सचेन्ज वा अपग्रेड नदिँदा ईभी प्रयोगकर्ताहरु मारमा पर्छन्। सेकेन्ड ह्याण्ड बजारमा यसको भ्यालुएसन गर्न निकै कठिन छ।’

नयाँ ब्याट्रीको उच्च लागत र पुरानो ब्याट्रीको घट्दो आयुका कारण सेकेन्ड ह्यान्ड बजारमा ईभी खरिदकर्ता जोखिम मोल्न चाहँदैनन्।

नेपालका ईभी बिक्री गर्ने कम्पनीले आफूले बिक्री गरेको स्कुटर एक्सचेन्ज गर्न वा फिर्ता लिन मान्दैनन्। पुरानो स्कुटरको ब्याट्री आयु कम हुने र पार्टस महँगो हुने भएकाले कम्पनीहरुले जोखिम लिन नचाहेको देखिन्छ।

ईभी खरिदकर्ता जोखिम मोल्न चाहँदैनन्। उनीहरूले ५० हजार वा १ लाख थपेर नयाँ वारेन्टी भएको स्कुटर किन्न सुरक्षित मान्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *