नेपाली बजारमा नयाँ–नयाँ चिनियाँ अटो ब्रान्ड आउने क्रम रोकिएको छैन। तर धेरै ब्रान्डले उत्पादन निरन्तरता नदिनु, सर्भिस र स्पेयर पार्ट्स अभावका कारण बजारबाट हराइरहेका छन्।
अहिले प्यासेन्जर कारभन्दा बढी कमर्सियल गाडी र बसका ब्रान्ड आउने क्रम जारी छ।
यस्तैमा चीनको बोनलक (Bonluck) नामक नयाँ विद्युतीय बस ब्रान्ड नेपालमा भित्रिएको छ।
चीनको जियाङसी प्रान्तस्थित नानचाङ सहरमा मुख्यालय रहेको बोनलक बस एन्ड कोच कम्पनीको दुईवटा ई–बस नेपाल ल्याइएको हो। यसको आधिकारिक आयातकर्ता मेघेन्द्र घ्राम प्रालि रहेको छ।
बोनलक कम्पनी सन् २०१० देखि चीनको सरकारी कम्पनी सीएचटीसी (China Hi-Tech Group Corporation) अन्तर्गत सञ्चालनमा छ।
हाल नेपालमा आएको दुई मोडल JXK6540RB र JXK6490RB हुन्, जसको मूल्य क्रमशः २१,४६५ डलर र १६,२५५ डलर (CIF भ्यालु) रहेको छ।
हालसम्म यसको सर्भिस सेन्टर, बिक्री मूल्य र बिक्रीपछिको सेवा सम्बन्धी विवरण सार्वजनिक गरिएको छैन।
बोनलकले चीनसहित युरोप, अफ्रिका, अमेरिका र अस्ट्रेलियामा पनि आफ्नो सेवा विस्तार गरिसकेको बताएको छ।
चीनमा रहेको यसको प्लान्टको वार्षिक उत्पादन क्षमता ५,००० बस छ र करिब १५,००० कर्मचारी काम गर्छन्।