सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गतका पाँचवटा रुग्ण ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ।
लामो समयदेखि काम नगरी अलपत्र पारिएका कालीकोटका चार र मुगुको नाग्म–गमगडी सडकखण्डका एक ठेक्का तोड्न कानूनी प्रक्रिया सुरु गरिएको हो।
कार्यालयले ठेक्का लिएका निर्माण व्यवसायीलाई १५ दिनभित्र काम सम्पन्न गर्ने योजना, स्रोतसाधन र प्रतिबद्धता पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ।
तोकिएको समयमा काम सुरु नगरेमा ठेकेदारलाई कालोसूचीमा राख्ने, धरौटी जफत गर्ने र बाँकी खर्च सरकारी बाँकीसरह असुल गर्ने प्रावधान लागू गरिने चेतावनी दिइएको छ।
यो कदम मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति अन्त्य गर्न दिएको निर्देशनअनुसार अघि बढाइएको हो।