छुट कि लुट

हाल नेपालमा विद्युतीय स्कुटर बजार तीव्र प्रतिस्पर्धामा छ। नयाँ मोडल र नयाँ ब्रान्डहरू एकपछि अर्को बजारमा प्रवेश गरिरहेका छन् भने केही कम्पनीहरू भने पुराना मोडल बिक्री गर्न आक्रामक छुट अफरहरू ल्याइरहेका छन्।

यस्ता अफरहरू प्रायः “स्टक क्लियरेन्स” को नाममा ल्याइन्छन्, जसको उद्देश्य गोदाममा बाँकी रहेका स्कुटरहरू चाँडै बिक्री गर्नु हो।

अहिलेको अवस्थामा, याडिया (Yadea) ले २०२२ मा निर्मित E8S Pro मा ४५ हजार रुपैयाँ छुट दिँदै, हाल १,८५,००० मा बिक्री गरिरहेको छ। त्यस्तै, Enigma ले आफ्ना मोडलहरूमा १ लाख रुपैयाँसम्म छुट घोषणा गरेको छ।

Evtric र Ray Motoss जस्ता ब्रान्डहरूले पनि ८० हजारदेखि १ लाख रुपैयाँसम्मको छुट अफर सुरु गरेका छन्। यी छुटहरू सुन्दा ग्राहकलाई तुरुन्तै आकर्षक लाग्न सक्छन्, किनकि सस्तोमा स्कुटर किन्न पाउनु आर्थिक हिसाबले राम्रो डिलजस्तो देखिन्छ।

तर, यहाँ एउटा ठूलो प्रश्न उठ्छ — यो छुट किन दिइँदैछ ?
यदि छुटको कारण केवल पुरानो स्टक बिक्री गर्नु हो र कम्पनी अझै बजारमा बलियोसँग रहिरहने हो भने, ग्राहकका लागि यो राम्रो अवसर हुन सक्छ। तर, यदि कम्पनीले बजारबाट नै बाहिरिने योजना बनाइरहेको छ भने, तत्कालको सस्तो डिल भविष्यमा ठूलो घाटाको कारण बन्न सक्छ।

कम्पनी बन्द भएपछि के हुन्छ ?

विद्युतीय स्कुटर सामान्य मोटरसाइकल वा पेट्रोल स्कुटर जस्तो होइन, जसको मर्मत सामान्य वर्कशपमा सजिलै गर्न सकिन्छ। यसको मर्मतका लागि ब्रान्ड–विशेष सीप भएका प्राविधिक र कम्पनीका मूल (Genuine) पार्ट्स आवश्यक पर्छ। कम्पनी नै बन्द भएमा —

बिक्रीपश्चात (After Sales) सेवा पाउन गाह्रो हुन्छ, स्पेयर पार्ट्सको अभाव हुन्छ । भविष्यमा स्कुटर प्रयोग गर्न असुविधा हुन्छ, जसले पुनः बिक्री मूल्य (Resale Value) पनि घटाउँछ।

ग्राहकले के–के हेर्नुपर्छ ?

१. Made Year जाँच्ने – धेरै कम्पनीहरूले २–३ वर्ष पुरानो मोडललाई नयाँ भनेर बेच्ने गर्छन्। त्यसैले, किन्नु अघि उत्पादन वर्ष अनिवार्य रूपमा हेर्नुहोस्।
२. कम्पनीको स्थायित्व बुझ्ने – कम्पनी कति वर्षदेखि बजारमा छ, शाखा र सर्विस सेन्टर कति छन्, र पार्ट्सको उपलब्धता कस्तो छ भनेर बुझ्नुपर्छ।
३. छुटको वास्तविक कारण बुझ्ने – केवल स्टक क्लियरेन्सको कारण हो कि कम्पनी बन्द हुन लागेको संकेत हो, यो छुट्याउन सक्नुपर्छ।

नेपालको विद्युतीय सवारी बजार अझै प्रारम्भिक विकासको चरणमा छ। ग्राहकहरू अहिले पनि पेट्रोल सवारीप्रति बढी भरोसा राख्छन्, जसका कारण विद्युतीय स्कुटरको पुनः बिक्री मूल्य (Resale Value) तुलनात्मक रूपमा कम छ।

यस्तो अवस्थामा, यदि ग्राहकले केवल तत्कालको छुटको लोभमा निर्णय गरे भने, भविष्यमा ठूलो आर्थिक घाटा भोग्नुपर्ने सम्भावना रहन्छ।

त्यसैले, सचेत उपभोक्ता बन्ने हो भने, स्कुटर किन्नु अघि कम्पनीको भविष्य, उत्पादन वर्ष, पार्ट्सको उपलब्धता र सेवा सुनिश्चितताको बारेमा राम्ररी बुझ्नु अनिवार्य छ।

ठूलो छुटले तुरुन्त खुशी दिलाउन सक्छ, तर दीर्घकालीन फाइदा चाहिने हो भने विवेकपूर्ण निर्णय लिनु नै सबैभन्दा ठुलो सुरक्षा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *