२८ अर्ब रुपैयाँमा निर्माणाधीन नेपालको पहिलो सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’मा चल्ने सवारीसाधनका लागि सरकारले उपभोग दस्तुर (टोल ट्याक्स) स्वीकृत गरेको छ ।
गत सोमबार मन्त्रिपरिषद्को बैठकले ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि दस्तुर तोकेको हो । निर्माणको अन्तिम चरणमा रहेको यो सुरुङमार्ग आगामी पुसदेखि सञ्चालनमा ल्याउने तयारी छ ।
सडक बोर्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै पेस गरेको प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले दस्तुर तोकेको हो । सवारीसाधनका प्रकृतिअनुसार फरक–फरक दर तोकिएको छ ।
सुरुङमार्ग हुँदै काठमाडौं भित्रिने र बाहिरिनेका लागि पनि शुल्क फरक–फरक तोकिएको छ । काठमाडौंबाट बाहिरिँदाको तुलनामा प्रवेशमा शुल्क धेरै छ ।
यद्यपि, सुरुका तीन महिना सीमित सवारीसाधनलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिने र त्यसमा शुल्क नलिने तयारी छ ।
सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार एम्बुलेन्स र दमकललाई सुरुङमार्ग प्रयोग गर्दा शुल्क लाग्ने छैन ।
पहिलो चरणमा भिआइपी सवारी (प्रधानमन्त्री, मन्त्रीलगायत) लाई पनि शुल्क नलिने बोर्डको तयारी छ ।
‘यसमा ठोस निर्णय भइसकेको छैन । तर, अहिले भिआइपी सवारीमा शुल्क लिनेछैनौँ । तर, यसमा पुनर्विचार पनि भइरहेको छ ।
भारतमा अहिले राष्ट्रपति र रक्षामन्त्रीलाई मात्रै शुल्क नलिने अभ्यास रहेछ,’ उनले भने, ‘हामी पनि सोही व्यवस्था लागू गर्ने योजनामा छौँ ।’