अटो नेपालका एमडी भुषणकुमार श्रेष्ठ सम्मानित

नेपाल क्यान्सर निवारण प्रतिष्ठान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघको संयुक्त आयोजनामा स्तन, पाठेघरको मुख र प्रोस्टेट क्यान्सरसम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया शीर्षक कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न भएको छ।

क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रम स्वास्थ्यकर्मी र सञ्चारकर्मीबीच प्रत्यक्ष अन्तरक्रियात्मक रुपमा सम्पन्न भएको हो।

कार्यक्रममा तीनवटा प्रमुख प्रकारका क्यान्सर – स्तन, पाठेघरको मुख (सर्भाइकल) र प्रोस्टेट क्यान्सरबारे विशेषज्ञहरूले जानकारी प्रस्तुत गरेका थिए।

कार्यक्रममा व्रेस्ट क्यान्सर सर्जन डा. प्रफुल्ल शाक्यले स्तन क्यान्सरका लक्षण, उपचार र जनमानसमा फैलिएका भ्रमबारे स्पष्ट जानकारी दिए।

उनका अनुसार स्तनमा गिर्खा देखिनु क्यान्सरको सम्भावित लक्षण हो, तर सबै गिर्खा क्यान्सरकै लक्षण भने हुँदैन।

क्यान्सर भएको घाउ धेरैजसो अवस्थामा नदुख्ने भएकाले महिलाहरूले सामान्य रूपमा बेवास्ता गर्ने गर्छन्, जसले गर्दा अस्पताल आउँदा ढिलो भइसकेको हुन्छ, डा. शाक्यले भने।

त्यसैगरी, क्लिनिकल अन्कोलोजिस्ट डा. रजनी झाले नेपालमा हरेक वर्ष २,५०० देखि ३,००० महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारण हुने बताइन्।

उनले यो रोगबाट जोगिनका लागि जोखिमबारे सचेतना, नियमित परीक्षण र एचपीभी (HPV) खोपको प्रयोग आवश्यक रहेको उल्लेख गरिन्।

डा. झाले किशोरीहरूलाई दिइने एचपीभी खोप महिलाहरूले महिनावारी सुरु हुनुअघि र सुरु भइसकेपछि पनि लगाउन सकिने जानकारी दिइन्।

सर्भाइकल क्यान्सरको पूर्ण रोकथाम सम्भव छैन, तर समयमा परीक्षण र खोप लगाउने बानी बसाल्न सकेमा यसको जोखिम निकै हदसम्म कम गर्न सकिन्छ, उनले बताइन्।

युरो अन्कोलोजिस्ट डा.इशान मल्लले प्रोस्टेट क्यान्सरका विषयमा जानकारी दिँदै भने, ५० वर्ष नाघेका पुरुषहरूलाई प्रोस्टेट क्यान्सरको खतरा उच्च हुन्छ।

तर नियमित जाँच गरिएमा यसको प्रारम्भिक अवस्था नै पत्ता लाग्न सक्छ, जसले उपचार सफल हुने सम्भावना बढाउँछ।

कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गरेकी थिइन्।

उनले महिलाहरू अझै पनि स्वास्थ्य समस्याबारे खुलेर बोल्न नचाहने प्रवृत्ति रहेको उल्लेख गर्दै सञ्चारकर्मीहरूले यसबारे खुला संवाद र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन्।

स्वास्थ्य परीक्षणबाट डराउनु हुँदैन। महिलाले आफ्नै स्वास्थ्यप्रति सचेत हुन जरुरी छ, उपमेयर डंगोलले भनिन्।

कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरीगोपाल प्रधान, वरिष्ठ उपाध्यक्ष तथा सञ्चारकर्मी–गायक निर्णय श्रेष्ठ, गायिका तथा क्यान्सर विजेता देविका बन्दना, अटो नेपालका एमडी भुषणकुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका प्रतिनिधिहरू, विभिन्न सञ्चार माध्यमका पत्रकारलगायत ५० भन्दा बढी सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

क्यान्सर सम्बन्धी जनचेतना फैलाउन सञ्चारकर्मीहरूको भूमिकालाई सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले विशेषज्ञहरूसँग खुला छलफल गरेका थिए।

पत्रकारहरूले जनताबीच अझ प्रभावकारी सन्देश पुर्‍याउनका लागि वैज्ञानिक जानकारी, तथ्याङ्क र रोकथामका उपायबारे विस्तृत ज्ञान लिन पाएका थिए।

कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टर, करुणा सिटी क्लिनिक, नेपाल सिनियर केयरलगायत स्वास्थ्य संस्थाहरूको सहयोग रहेको थियो।

आयोजक संस्थाहरूले आगामी दिनमा देशभर यस्ता अन्तरक्रिया कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *