नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
बेलायत–नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास, लण्डनको संयुक्त आयोजनामा लण्डनमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा नेपालमा आकर्षक लगानी अवसर रहेको बताए।
कार्यक्रममा दुई देशका व्यापारी, लगानीकर्ता र समुदायका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
अध्यक्ष ढकालले नेपाल र बेलायतबीचको २०० वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै, व्यापार र लगानीमार्फत सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने जोड दिए।
नेपालको रणनीतिक स्थान, युवा र दक्ष जनशक्ति, कम श्रम लागत र मध्यम वर्गको वृद्धि लगानीमैत्री वातावरण निर्माण गर्न सहयोगी भएको जानकारी दिए।
उनले भने, “नेपालसँग ४० हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन क्षमता छ।
स्वच्छ र हरित ऊर्जा भविष्य हो र हामी बेलायती कम्पनीहरूलाई यस क्षेत्रमा सहभागी हुन आमन्त्रण गर्छौं।”
सूचना प्रविधिमा नेपाली युवाको दक्षताले नेपाललाई आउटसोर्सिङ र डिजिटल सेवामा प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गर्दै, महासंघले लगानीकर्तालाई आवश्यक सहजीकरण र स्थिर वातावरण प्रदान गर्न प्रतिबद्धता जनाएको छ।
नेपाल र बेलायतबीचको सम्बन्धलाई प्रगाढ बनाउन बेलायतस्थित नेपाली समुदायको भूमिका सराहनीय रहेको पनि उनले बताए।
दुवै देशबीच व्यापार, लगानी र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने यो कार्यक्रम सफल हुने विश्वास गरिएको छ।