नाफामा फर्कियो सेरेस ग्रुप

चिनियाँ विद्युतीय सवारी निर्माता सेरेस ग्रुपले सन् २०२४ मा उल्लेखनीय सवारी बिक्रीका कारण पुनः नाफामा फर्किएको जनाएको छ।

हुवावे टेक्नोलोजिजसँगको सहकार्यमा विकसित आइटो ब्रान्डका विद्युतीय सवारीहरू बजारमा लोकप्रिय बन्दै गएपछि कम्पनीको आम्दानीमा उल्लेखनीय सुधार देखिएको हो।

सेरेस ग्रुपका अनुसार, सन् २०२४ को वित्तीय वर्षमा कम्पनीको अनुमानित नाफा ५.५ अर्बदेखि ६ अर्ब चिनियाँ युआन (७५६ मिलियनदेखि ८२५ मिलियन अमेरिकी डलर) पुगेको छ।

अघिल्लो वर्ष २.४५ अर्ब युआन बराबरको घाटा व्यहोरेको कम्पनीका लागि यो महत्वपूर्ण वित्तीय पुनरुत्थान हो।

चोंगकिङस्थित मुख्यालयबाट सञ्चालित कम्पनीले यो सफलता न्यू इनर्जी भेहिकल (NEV) बिक्रीमा आएको तीव्र वृद्धिलाई श्रेय दिएको छ।

सन् २०२४ मा सेरेसले कुल ४,९७,००० युनिट सवारी बिक्री गर्‍यो, जुन अघिल्लो वर्षको तुलनामा ९७ प्रतिशतले वृद्धि भएको हो। यस्तै, NEV बिक्री झण्डै तीनगुणा बृद्धि भई ४,२६,९०० युनिटमा पुगेको छ।

यहीबीच, कम्पनीले नोभेम्बर महिनामा प्रस्ताव गरेको लंगशेंग न्यू इनर्जी टेक्नोलोजीको अधिग्रहण योजनालाई शांघाई स्टक एक्सचेन्जले स्वीकृति दिएको छ।

यो अधिग्रहणमा कम्पनीले ८.१७ अर्ब युआन बराबरको सेयर बिक्री गर्नेछ। लंगशेंग कम्पनीको प्रमुख सम्पत्ति भनेको गिगाफ्याक्ट्री हो, जहाँ हाल आइटो सिरिजको उत्पादन भइरहेको छ।

यो गिगाफ्याक्ट्रीमा ३,००० भन्दा बढी रोबोटको समन्वयमा पूर्ण अटोमेटेड उत्पादन प्रणाली प्रयोग गरिएको छ।

सेरेसले अन्तिम स्वीकृतिका लागि चीनको सेक्युरिटिज रेगुलेटरी कमिसनको प्रक्रियामा रहेको जानकारी दिएको छ।

सम्झौता सम्पन्न भएपछि गिगाफ्याक्ट्रीको पूर्ण स्वामित्व कम्पनीले पाउनेछ, जसले उत्पादन गुणस्तर र स्वायत्तता थप सुनिश्चित गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *