बहसमा बालाजु–रानीपौवा–त्रिशूली सडक

बालाजु–रानीपौवा–त्रिशूली सडकको विषयलाई लिएर सत्तारुढ दलका सांसदले नै बजेट पुस्तिका च्यात्ने चेतावनी दिएका छन्।

तीन वर्षमा काम पूरा गर्ने गरी सम्झौता भएकोमा पटकपटक म्याद थप्दा समेत ठेकेदारले काम  नगरेको उक्त सडकका लागि सरकारले समेत बजेट छुट्याउन छाडेको भन्दै कांग्रेस सांसद अर्जुननरसिंह केसीले आक्रोश व्यक्त गरेका हुन्।

उक्त बाटो अलपत्र पार्ने ठेकेदार अत्यन्तै शक्तिशाली हुँदै सरकारका कुनै निकायले कारबाही नगरेको उल्लेख गर्दै केसीले भने, ‘तत्कालीन अत्यन्त शक्तिसम्पन्न ठेकेदारले कामै गरेन, त्यसलाई कसैले छुन सकेन।

०७३ सालबाट झण्डै झण्डै चार–पाँच वर्षमा सात चोटीसम्म म्याद थपियो। तर अहिले तीन वर्षदेखि त्यसमा बजेट परेको छैन।’

एक्जिम बैंकलाई देखाएर नपन्छिन आग्रह गर्दै उनले थपे, ‘त्यो एक्जिम बैंकसँग मेरो क्षेत्रका, जिल्लाका जनताले कुरा गर्न जानुपर्ने कि मैले कुरा गर्न पर्ने हो कि सरकारले कुरा गरेर टुंग्याउन पर्ने हो ?’

उक्त सडकका लागि यो पटक पनि बजेट विनियोजन नभए बजेट भाषणकै दिन बजेट पुस्तिका च्यात्ने केसीको चेतावनी छ।

‘मेरो मर्यादा र संस्कारले दिँदैन, तर पनि यसपाली पनि बजेटमा परेन भने मैले बजेट भाषणमा त्यो च्यात्नु भन्दा अरु विकल्प छैन,’ उनले भने, ‘म पार्टीको गठबन्धन सरकारको अंग हुँदा हुँदै पनि त्योभन्दा बढी जिम्मेवारी मेरो जिल्लाका जनता हुन्।’

लोकप्रियताका लागि सम्भाव्य अध्ययनविना ‘बाँदरले मकै सोहोरेजस्तो’ गरी नयाँ योजनालाई बजेट नदिन समेत  सांसद केसीले सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *