नाफा बढ्यो, मूल्य घटेन

चालू आर्थिक वर्षमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको घट्यै हुँदा त्यसको ठुलो लाभ लिएको आयल निगमले उपभोक्ता मूल्य भने सधैँ नियन्त्रित राखेको छ ।

हरेक महिना एक अर्ब नाफा कमाइरहेको निगमले आफूअनुकूल नीति लिएका कारण अन्तर्राष्ट्रिय बजारमा घटेको मूल्यको लाभ नेपाली उपभोक्ताले पाउन सकेका छैनन् ।

चालू आर्थिक वर्ष ०८१/८२ को साउनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २३.५३ प्रतिशतले घटिसकेको छ ।

तर, निगमले यस अवधिमा नेपाली बजारमा पेट्रोल ६.४३ तथा डिजेल, मट्टीतेल र हवाई इन्धन ८.७५ प्रतिशत मात्रै घटाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य घटाएकै छैन ।

अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन नगरेकै कारण निगमले चालू आवको नौ महिनामा नौ अर्ब रुपैयाँ नाफा आर्जन गरिसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भएअनुसार प्रत्येक १५ दिनमा निगमले नेपाली बजारमा मूल्य समायोजन गर्छ । तर, निगमले समायोजन गर्दा चर्को नाफा राखेर मूल्य तय गर्ने गरेको छ ।

गत १ साउनमा ८०.९१ डलर प्रतिब्यारेल रहेको कच्चा तेलको मूल्य २ वैशाख (निगमले पछिल्लोपटक मूल्य समायोजन गरेको मिति) साँझ ६०.०२५ डलर प्रतिब्यारेलमा झरेको थियो ।

नौ महिनाको अवधिमा कच्चा तेलको भाउ २०.८९ डलर प्रतिब्यारेल घटेको हो । तर, अन्तर्राष्ट्रिय बजारमा निरन्तर गिरावट आइरहेको मूल्यको लाभ उपभोक्ताले पाउन सकेका छैनन् ।

साउन १ मा पेट्रोल १७१ र डिजेल तथा मट्टीतेल समान १६० रुपैयाँ प्रतिलिटर थियो । अहिले पेट्रोल १६० र डिजेल तथा मट्टीतेल समान १४६ रुपैयाँ प्रतिलिटर छ ।

यो अवधिमा पेट्रोल ११ रुपैयाँ र डिजेल तथा मट्टीतेल १४ रुपैयाँ प्रतिलिटर मात्रै घटेको छ ।

प्रतिसिलिन्डर १९ सय १० रुपैयाँ रहेको ग्यासको भाउ यथावत् छ । आन्तरिक हवाई इन्धनको भाउ १२ रुपैयाँ प्रतिलिटर घटेर १२५ रुपैयाँ कायम छ ।

२ वैशाख रातिबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ मूल्य घटाएर हाल कायम मूल्य निर्धारण गर्दा पनि ‘नाफा’लाई नै निरन्तरता दिएको छ ।

२–१५ वैशाखसम्ममा मात्रै ६६ करोड ८२ लाख रुपैयाँ नाफा सुनिश्चित गरेर मूल्य समायोजन गरिएको निगमको उच्च स्रोत बताउँछ ।

पछिल्लो समायोजनअनुसार निगमले प्रतिलिटर पेट्रोलमा ६.५६, डिजेलमा ११.६६, मट्टीतेलमा २२.१५, आन्तरिक हवाई इन्धनमा १८.१६ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा २०.४४ रुपैयाँ नाफा लिइरहेको छ ।

ग्यासमा भने उसलाई प्रतिसिलिन्डर २९६.५९ रुपैयाँ घाटा छ । आयल निगमले २ वैशाखमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएर मूल्य समायोजन गरेयताको १५ दिनमा ६६ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।

निगमका अनुसार पेट्रोलमा १८ करोड २४ लाख, डिजेलमा ७८ करोड १५ लाख, मट्टीतेलमा एक करोड ४० लाख र हवाई इन्धनमा १६ करोड ८४ लाख रुपैयाँ नाफा प्रक्षेपण भएको छ ।

त्यस्तै, खाना पकाउने एलपी ग्यासमा भने ४७ करोड ८० लाख रुपैयाँ घाटा हुने अनुमान छ । ग्यासमा दोहोरो मूल्य कायम गरी घाटा कम गर्न निगम व्यवस्थापन उदासीन भएकाले निरन्तर नोक्सानी खेपिरहेको छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले अन्तर्राष्ट्रिय बजारमा घटेको पेट्रोलियम पदार्थको लाभ नेपाली उपभोक्ताले नपाएको बताए । ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटिरहेको छ ।

तर, उक्त दरमा निगमले नेपाली बजारमा मूल्य समायोजन गर्ने गरेको छैन ।

नाफा सुनिश्चित गर्दा उपभोक्ता मूल्य सधैँ नियन्त्रित भइरहेको छ,’ उनले भने, ‘पछिल्लोपटक २ वैशाखमा मूल्य घटाउँदा पनि उपभोक्तालाई लाभ दिने उद्देश्यले घटाइएको छैन । पेट्रोलियमको मूल्य अझै धेरै अन्तरमा घट्नुपर्ने अवस्था छ ।’

तर, आयल निगमको सञ्चालक समिति अध्यक्षसमेत रहेका वाणिज्य तथा आपूर्तिसचिव गोविन्दबहादुर कार्कीले अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावअनुसार नै नेपालमा मूल्य समायोजनको प्रयत्न जारी रहेको जिकिर गरे ।

‘अन्तर्राष्ट्रिय बजारमा भएको घटबढअनुसार नै नेपालमा पेट्रोलियमको मूल्य समायोजन हुँदै आएको छ । तर, ठ्याक्कै उही दरमा नहुन सक्छ,’ उनले भने, ‘किनभने खरिद मूल्यपछि विविध लागतले नेपालको मूल्य प्रणालीलाई असर पार्ने गर्छ ।’

यस्तै, आयल निगमका प्रवक्ता मनोज ठाकुरले अन्तर्राष्ट्रिय बजारलाई पछ्याएर नै नेपालमा प्रत्येक १५ दिनमा मूल्य समायोजन भइरहेको दाबी गरे ।

‘अन्तर्राष्ट्रिय बजारअनुसार समायोजन गर्दा हामीकहाँ रहेको मूल्य प्रणालीले केही फरक पर्छ,’ उनले भने, ‘डलरको भाउ र कच्चा तेलको प्रशोधन शुल्कले पनि मूल्य निर्धारणमा असर पार्ने गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *