धनकुटाको पाख्रीबास नगरपालिका–५ देवीथानमा आज आइतबार दिउँसो हायस दुर्घटना हुँदा सातजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४६२९ नम्बरको इभी हायस पाख्रीवास नगरपालिका–५ देवीथानमा अनियन्त्रित भई दुर्घटना भएको थियो।
१६ जना यात्रुसवार उक्त हायस अपराह्न ४ः३५ बजे सडकबाट २० मीटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते भएकाहरु केहीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने केहीको पाख्रीवास आधारभूत अस्पतालमा उपचार गरी घर फर्किएका जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताए।
घाइते भएकी भोजपुर रामप्रसाद राई गाउँपालिका–१ की ६५ वर्षीया वीरमाया तामाङको अवस्था गम्भीर छ।
उनको बाहिरी अंगमा चोटपटक नदेखिए पनि भित्री अंगमा समस्या भएका कारण स्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि धरान पठाइएको प्रहरीले बताएको छ।
दुर्घटनामा भोजपुर टेम्केमैयुङ गाउँपालिका–७ का २९ वर्षीया बेगना चेम्जोङ र ३६ वर्षीय तपिराज राई, झापा विर्तामोड नगरपालिका–७ का ८५ वर्षीय कृष्णबहादुर राईको पनि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डिएसपी खनालले जानकारी दिए। घाईतेहरुको गाला, हात, आँखालगायतका अंगमा चोट लागेको छ।
यसैगरी, संखुवासभा चैनपुर नगरपालिका–२ का २७ वर्षीय रमेश कार्की, भोजपुर रामप्रसाद राई गाउँपालिका–१ का ३६ वर्षीय किशोर तामाङ र भोजपुर नगरपालिका–७ का ४८ वर्षीय प्रविनकुमार सुवाल पाख्रीवास आधारभूत अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्।
चालक धनकुटा महालक्ष्मी नगरपालिका–९ का ३६ वर्षीय प्रकाश भण्डारीलाई नियन्त्रणमा लिई घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।