भेरी नदीमा निर्माण हुनुपर्ने यही पुल अलपत्र परेका कारण बर्दियाको भुरीगाउँदेखि सुर्खेतको तेलपानी जोड्ने सडकको स्तरोन्नति हुन सकेको छैन।
जसलेगर्दा छोटो मार्ग भएर पनि स्थानीय बासिन्दालाई आउजाउ गर्न लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता छ।
यो सडकको जम्मा लम्बाइ ५२ किलोमिटर छ। भेरीमा पुल बनेर सडकको स्तरोन्नति भएमा सुर्खेतलाई तराईसँग जोड्ने यो नै सबैभन्दा छोटो मार्ग हुनेछ।
तर यही पुल निर्माण नहुँदा लामो दूरीको यात्राबाट कोहलपुर हुँदै बर्दियासम्म पुग्नुपर्ने बाध्यता छ।
कर्णालीलाई लुम्बिनी प्रदेशसँग जोड्ने यो मार्ग छोटो भएकाले पनि बारम्बार यो सडकको स्तरोन्नति र पुल निर्माणको आवाज उठिरहेको छ। पुल निर्माण नहुँदा स्थानीयलाई आउजाउ गर्न सकस भइरहेको हो।
यस्तै स्थानीयले उत्पादन गरेका वस्तुलाई बजारसम्म लैजान समस्या भइरहेको छ। सरकारी बेवास्ताका कारण यो सडक निर्माणको योजना हाल अलपत्र परेको हो।
आर्थिक वर्ष २०७१/०७२ यता उक्त सडक योजनाको काम अगाडि बढ्न सकेको छैन। आधा काम भइसकेको आयोजनामा बजेट बिनियोजन नहुँदा थप काम अघि बढ्न नसकेको हो।
यो सडकको ट्र्याक खोल्ने काम पनि आधा मात्रै भएको छ। बर्दियाबाट सुर्खेतको सिमानासम्म र सुर्खेतबाट बर्दियाको सिमानासम्म ट्र्याक खोलिएको छ। यद्यपि बिचमा ट्र्याक खुल्न भने बाँकी छ।
सुर्खेतको तेलपानीदेखि बर्दियाको भुरीगाउँसम्म जोड्ने ५२ किलोमिटर सडक निर्माणको योजना २०७० सालदेखि अघि बढाइएको थियो।
पछिल्ला वर्षमा सरकारले यो सडकका लागि बजेट छुट्ट्याउन छोडेको छ। बर्दियाको भुरीगाउँबाट सुर्खेतको तेलपानी जोड्ने सडकमध्ये १२ किलोमिटर बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्छ।
यो सडक सञ्चालनमा आए सुर्खेतको मात्र नभएर लुम्बिनी र कर्णालीका अन्य जिल्लामा औद्योगिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने यहाँका स्थानीयवासी बताउँछन्।
समग्र कर्णालीलाई लुम्बिनी अर्थात तराईसँग जोड्ने यो मार्ग नै छोटो मानिएको छ।
यहाँका राजनीतिक दलले पटकपटक जिल्लामा आउने सरकार तथा राष्ट्र प्रमुखलाई यो सडक निर्माणका लागि भन्दै जर्दनौं मागपत्र बुझाइ सकेका छन्। तर त्यसको कुनै सुनुवाइ भएको छैन।