करिब सात वर्षदेखि अस्तव्यस्त चक्रपथ दोस्रो खण्ड कलंकी–महाराजगञ्ज विस्तार कार्य अघि बढ्ने भएको छ ।
यो खण्ड विस्तारका लागि चिनियाँ टोली यसै साता नेपाल आउन लागेको नेपालका लागि चिनियाँ राजदूत चेन सङले जानकारी दिएका छन् ।
राजदूत सङले चक्रपथ विस्तारका साथै अन्य योजनामा काम गर्न चिनियाँ टोली नेपाल आउन लागेको बताएका हुन् ।
जनावरीमा यो खण्ड डिजाइनका लागि कम्पनी छनोट गर्न भन्दै चीन सरकारले बोलपत्र आह्वान गरेको थियो ।
अहिले भने डिजाइन गर्ने कम्पनी छनोट गरिसकेको चक्रपथ सडक विस्तार योजना कार्यालयका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए ।
‘डिजाइनका लागि कम्पनी छनोट भएको भन्ने हामीले सुनेका छौँ । तर चिनियाँ टोली नेपाल आउँदै छ भन्ने हामीकहाँ जानकारी आएको छैन,’ उनले भने, ‘कम्पनीको टुंगोपछि डिजाइन गर्न आउने त होला, तर कहिले आउनेबारे जानकारी छैन । आउने भए खबर गर्लान् ।’
डिजाइन गर्ने कम्पनी यो हो भन्नेबारे अफिसियल रूपमा समेत जानकारी नआएको उनको भनाइ छ । संघीय राजधानीकै सडकको करिब ७ वर्षदेखि अवस्था अस्तव्यस्त छ ।
सडकमा सर्भिस लेन बनाउने भन्दै सडक भत्काएर अलपत्र पारिएको छ । जसका कारण धुलो हिलोका साथै दुर्घटनाको जोखिम समेत बढेको छ ।
सडकको दूरवस्थाले कलंकीदेखि बसुन्धरासम्मको खण्डमा व्यापार व्यवसाय नै पलायन हुने अवस्था आएको व्यवसायीहरूले बताउँदै आएका छन् । सडककै कारण आसपास र बाटो भएर हिँड्नेहरूको स्वास्थ्यमा असर परिरहेको छ ।