काठमाडौँमा वायु प्रदूषण
काठमाडौँको मनमैँजुबाट बिहीबार बिहान देखिएको वायु प्रदूषणका कारण तुवाँलोले ढाकेको आसपासको क्षेत्र ।पछिल्ला केही दिनमा उपत्यकाको वायु प्रदूषण बढेको छ, जसका कारण आँखा पिरो हुने, खाँटी खसखसाउने जस्ता समस्या देखिएको छ । तस्बिर : हरिराम भेटुवाल/रासस
काठमाडौँ पुनः विश्वकै प्रदूषित सहरको सूचीमा एक नम्बरमा पुगेको छ । शनिबार बिहान ९ बजेको मापन अनुसार आईक्यू एयरको सूचीमा काठमाडौँ शीर्ष स्थानमा रहेको हो ।
हाल काठमाडौँको एक्यूआई २२८ रहेको छ । यसलाई निकै अस्वस्थकर मानिन्छ । अहिले हावामा पीएम२.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २७.२ गुणा बढी रहेको छ ।
यस्तो अवस्थामा बाहिर व्यायाम नगर्न, घर र कार्यालयको झ्यालहरु बन्द गर्न, बाहिर निस्कँदा मास्क प्रयोग गर्न र एयर प्युरिफायरको प्रयोग गर्न सुझाव दिइएको छ ।
यो सूचीमा भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ भने पाकिस्तानको लाहोर तेस्रो स्थानमा छ ।
त्यसपछि शीर्ष १० स्थानमा क्रमशः चीनको वुहान, कुवेतको कुवेत सिटी, भारतको मुम्बई, भियतनामको हानोई, थाइल्याण्डको चाङ माई, बंगलादेशको ढाका र चीनको छोङकिङ सहर छन् ।