पक्की पुल आठ वर्षमा पनि बनेन

ठेक्का सम्झौताअनुसार समयमै काम भएको भए काभ्रे र मकवानपुर जोड्ने पक्की पुल ६ वर्षअघि नै सञ्चालनमा आइसक्नुपर्ने थियो ।

तर, दुई वर्षमा निर्माण सक्नुपर्ने पुल आठ वर्ष बितिसक्दासमेत बन्न सकेको छैन ।

निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले समयमै काम नगरिदिँदा काभ्रेको खानीखोला र मकवानपुरको बागमती गाउँपालिकालाई जोड्ने पक्की पुल अलपत्र परेको आठ वर्ष भयो ।

ठेकेदारले आठ वर्षदेखि पुल अलपत्र पारेपछि निर्माणका लागि दबाब दिन स्थानीयवासीले बागमती प्रदेशका मुख्यमन्त्री र प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीलाई गुहारेका छन् ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा पाएको महादेव–शिखर–तामाकोशी–जेभीलाई पुल निर्माणको काम तत्काल सम्पन्न गर्न दबाब दिन उनीहरूले मुख्यमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई गुहारेका हुन् ।

तत्कालीन जिल्ला विकास समिति मकवानपुरले आर्थिक वर्ष ०७३/७४ मा ठेक्का लगाएर पुल निर्माणको काम सुरु भएको थियो ।

काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर ५ र मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ सिक्रेदोभान जोड्ने बागमती नदीमाथिको पुल निर्माण नहुँदा त्यहाँका स्थानीयवासीलाई आवतजावतमा समस्या छ ।

काभ्रेको खानीखोला र महाभारत तथा मकवानपुरको बागमती गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र भौतिक पूर्वाधारमन्त्री अमनकुमार मास्केलाई भेटेरै उक्त पुल समयमै निर्माण गर्ने वातावरण मिलाइदिन आग्रह गरे ।

उक्त पुल समयमै निर्माण नहुँदा काभ्रेको खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडासम्म आवतजावत गर्न र दैनिक उपभोग्य सामान र आफूहरूले उत्पादन गरेको कृषिउपज ओसारपसारमा समस्या झेल्दै आएको उनीहरूको गुनासो छ ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा महादेव–शिखर–तामाकोशी–जेभीले पाएको थियो ।

भ्याटबाहेक ११ करोड ६५ लाखमा ठेक्का पारेको निर्माण कम्पनीले काम नगर्दा पुलको काम मात्रै रोकिएन स्थानीयले नदी तर्नसमेत सास्ती खेप्दै आएका छन् ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छाराम जिम्बाका अनुसार अहिलेसम्म पुलको पिल्लर उठाउने, नदीको बिचमा ‘पाइलिङ’ गर्ने र काभ्रेपलाञ्चोकतर्फको पिल्लरको पाइलिङको काम मात्रै सकिएको छ ।

उक्त पुलको निर्माण कार्य समयमै सम्पन्न गर्न सके काभ्रेको विकट खानीखोला र महाभारत गाउँपालिकालाई मकवानपुरको बागमती गाउँपालिकाको भोर्लेनी हुँदै प्रदेशको राजधानी हेटौँडासँग जोड्न सकिने अध्यक्ष रुम्बाको भनाइ छ ।

उनले उक्त सडक सञ्जालमार्फत सबैभन्दा नजिकको बजार हेटौँडासँगै बागमतीको झुझुरे–भोर्लेनी, तालढुंगा र देवीटार सडक र काभ्रेको रोशी गाउँपालिका हुँदै बिपी लोकमार्गसम्म जोड्न सकिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *