त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी चैत १९ (अप्रिल १)बाट ६ घण्टामात्र बन्द हुने भएको छ ।
२०८१ कात्तिक २३ देखि चैत १८ गतेसम्मको समय सीमा तोकेर विमानस्थल विस्तार गर्ने योजनाअनुरुप स्तरोन्नतिको काम भइरहेको छ ।
विगतमा नागरिक उड्डयन प्राधिकरणले दैनिक १० घण्टा विमानस्थल बन्द गरेर स्तरोन्नतिको काम गरेको थियो ।
माघ १९ देखि विमानस्थल बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म सञ्चालन भइरहेकोमा चैत १९ देखि ६ घण्टामात्र (राति १२ देखि बिहान ६ बजे) बन्द हुने भएको हो ।
अहिले राति ११ बाट बिहान ७ बजेसम्म बन्द हुँदै आएकोमा चैत १९ बाट विमानस्थल १८ घण्टा सञ्चालनमा आउने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
उनले भने, ‘अप्रिल १ बाट विमानस्थल १८ घण्टा खुल्ने र ६ घण्टा बन्द हुनेछ ।
यो समयमा विमानस्थल पूर्ण रूपमा खुला र बन्द गर्ने योजनाअनुसार प्राधिकरण अगाडि बढेको छ ।’
प्राधिकरणले विगतमा बिहान ६ बजेदेखि राति ३ बजे अर्थात् २१ घण्टा विमानस्थल खुला गर्दै आएकोमा आगामी दिनमा भने १८ घण्टामात्र खुला गर्ने नीति लिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम ६० प्रतिशत पूरा भएको छ ।
करिब दुई सय जनशक्ति परिचालन गरेर काम गरिरहेको प्राधिकरणले हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको बताएको हो ।
प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले भने, ‘आयोजनाको ६० प्रतिशत भौतिक प्रगति पूरा भएको छ ।
तोकिएको समयमा नै आयोजना पूरा हुने देखिएको छ ।’ प्राधिकरणले क्षमता र गुणस्तर अभिवृद्धि गर्न विमानस्थल मर्मत गरेको हो ।
विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थल पूर्वतर्फको ह्यांगर एप्रोन गरी तीन प्याकेजमा विमानस्थल स्तरोन्नति र विस्तारको काम हुँदैछ ।
प्राधिकरणले एसियाली विकास बैंकको ऋण सहयोगमा १५ अर्ब रुपैयाँ लगानीमा विमानस्थल विस्तारको काम अगाडि बढाएको हो ।
उनले भने, ‘स्तरोन्नतिपछि रनवे र ट्याक्सी वेको क्षमता वृद्धि हुनेछ ।
एयर ट्राफिक कन्ट्रोलरलाई ट्राफिक व्यवस्थापन गर्न धेरै सजिलो हुने हुँदा सुरक्षामा पनि अभिवृद्धि हुनेछ ।’
विमानस्थलको मुख्य धावनमार्गसँगै समानान्तर हुनेगरी ७५ मिटरमा ट्याक्सी वे बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।
विमानस्थल स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि भई एयर ट्राफिक व्यवस्थापन सहज हुने आयोजना प्रमुख श्रेष्ठले बताए ।
आईकाओले तोकेको विमानस्थल मापदण्ड पालना हुनेगरी तयार भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनाअनुसार विमानस्थलको क्षमता विस्तार गर्न विभिन्न काम भइरहेको हो ।
कात्तिक २३ देखि चैत १८ गतेसम्म विमानस्थल बन्द गरेर विस्तार गर्ने योजना छ ।
‘विमानस्थल स्तरवृद्धिको काम गर्दा रनवेको दक्षिण जोड्ने समानान्तर तथा एक्जिट ट्याक्सी वेहरू निर्माण सम्पन्न गरी प्रयोगमा आएसँगै रनवेको अकुपेन्सी समय धेरै घट्नेछ ।
साथै रनवे र ट्याक्सी वेको क्षमता करिब २० देखि २५ प्रतिशतसम्म वृद्धि हुन्छ,’ आयोजना प्रमुख श्रेष्ठले भने ।
अहिलेभन्दा एयर ट्राफिक व्यवस्थापन गर्न कन्ट्रोलरलाई धेरै सहज हुने र सुरक्षाको स्तर अभिवृद्धि हुने प्राधिकरणले जनाएको छ ।
वर्तमान ट्याक्सी वे रनवेदेखि ११० मिटरको दूरीमा रहेको छ भने निर्माणाधीन समानान्तर ट्याक्सी वे र रनवेको दूरी १७२.५ मिटरको हुनेछ ।
निर्माणाधीन १८ वटा पार्किङ एप्रोन तयार भएपछि विमानहरू आकाशमा होल्ड गर्नुपर्ने समस्या कम हुने प्राधिकरणको भनाइ छ । २०७७ मा पनि प्राधिकरणले विमास्थलको धावनमार्ग विस्तार गरेको थियो ।
त्यतिबेला धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो र धावनमार्ग दक्षिणतर्फ रनवे जिरो–टु विस्तार गरिएको थियो ।
हाल एप्रोन विस्तारको काम ६५ प्रतिशत, दक्षिणतर्फको प्यारालल ट्याक्सी वेको ४५ प्रतिशत र ह्यांगर विस्तारको ३५ प्रतिशत हाराहारी भौतिक प्रगति पूरा भएको आयोजनाले जनाएको छ ।