१० वर्षसम्म अलपत्र अवस्थामा रहेको कालीगण्डकी करिडोरको पाल्पा राम्दी रानीमहल सडक खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ।
करिडोरको राम्दी रानीमहल खण्डको काम पूरा भएपछि चीनको कोरला नाकादेखि मालढुंगाहँुदै पूर्वी नवलपरासीको गैंडाकोट सडक निर्माणकार्य पूरा हुनेछ।
करिडोरको पाल्पाको रानीमहल राम्दी सडक खण्डको १७ किलोमिटर सडकको समयमा ट्र्याक नखुल्दा १० वर्षसम्म स्तरोन्नतिको काम रोकिएको थियो।
सडक खण्डको १७ किलोमिटरमध्ये दैलातुङ्ख दर्पुक सडक क्षेत्रको मन्द्रान शिखरडाँडा, मझेटाको करिब २ किलोमिटर सडकमा १० वर्षसम्म ट्र्याक नखुल्दा स्तरोन्नतिको काम रोकिएको हो।
पुरानो ठेक्काबाट ट्र्याक खुलेपछि अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित नहँुदा राम्दी रानीमहलको सडकमा ठेक्का लाग्न सकेको थिएन।
आव २०८१/८२ को बजेटमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएपछि मात्र कार्यालयले सूचना निकाली नयाँ ठेक्काबाट नयाँ निर्माण व्यवसायी छनोट भई राम्दी रानीमहल क्षेत्रमा काम सुरु भएको हो।
अहिले नयाँ निर्माण व्यवसायीबाट राम्दीदेखि रानीमहल खण्डमा विभिन्न सेक्टर विभाजन गरी सडक स्तरोन्नतिको काम भइरहेको छ।
काम सुरु भएपछि कार्यालय प्रमुखदेखि इन्जिनियर, प्राविधिक, जनतप्रतिनिधिबाट दिनहुँजसो अनुगमन भइरहेको र निर्माण व्यवसायीले छिटो छरितो रूपमा काम गरेको देख्दा राम्दी रानीमहल सडक बन्छ कि भन्ने आशा जागेको स्थानीय डोलराज अधिकारीले बताए।
यति धेरै काम भएको छ, निर्माण व्यवसायीले पनि जतिसक्दो चाँडो भ्याउने गरी काम गरेको छ, करिडोर सडक पिच भएपछि यातायातमा सजिलो, गाउँका कृषि उत्पादनहरू सजिलै बिक्री हुने स्थानीय बताउँछन।
यो सडक बनेपछी चाइना र इन्डियाका धार्मिक पर्यटकहरू आवतजावतमा बृद्धि हुने, राम्दी, रानीमहल तथा रिडीजस्ता धार्मिक स्थानहरूमा पर्यटकहरूको चहल पहल बढ्ने र यस क्षेत्रको विकास र आयआर्जनमा वृद्धि हुने आशा स्थाानीयवासीमा रहेको स्थानीय नरेन्द्रराज पचभैयाले बताए।
राम्दी रानीमहल क्षेत्रमा निर्माण व्यवसायीले खण्डखण्ड विभाजन गरी काम गरेकोमा स्थानीय खुसी देखिन्छन्।
राम्दीदेखि रानीमहल क्षेत्रको कालीगण्डकी किनारामा मोटरबाटो आउला भनेर जनताले कल्पना पनि गरेको थिएन।
यो सदरमुकामबाट नजिक भए पनि निकै पिछडिएको क्षेत्र हो। अहिले राजमार्ग नै बन्न लागेको छ।
अब करिडोर पिच हुने भयो, हाम्रा गाउँघरमा उत्पादन भएका कृषि उपजहरू बजारमा बिक्री गर्न, बिरामी हुँदा सजिलै अस्पताल जान सकिने, बाटोको कारण विभिन्न किसिमका रोजगारी बढ्ने, बगनासकाली मन्द्रानका प्रेमनारायण पन्थीले बताए।
करिडोरको राम्दी रानीमहल सडक खण्डलाई निर्धारित समयै काम सक्न, कार्यालयदेखि जनप्रतिनिधि, सामाजिक अगुवा सर्वसाधारणले दवाबसँगै नियमित रूपमा अनुगमन गर्दै आएका छन्।
१० वर्षसम्म कालीगण्डकी करिडोरको राम्दी रानीमहल सडक अलपत्र परेपछि सडक प्रभावित क्षेत्रका जनता, जनप्रतिनिधिको निरन्तर दबाबबाटै अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएपछि स्तरोन्नतिको काम सुरु भएको छ।
कालीगण्डकी करिडोर सडकको अपूरो रहेको राम्दी रानीमहल खण्ड पूरा गराउन पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डे लागेका छन्।
राम्दी रानीमहल सडकखण्डमा ट्र्याक खुलेपछि नेपाल सरकार अर्थ मन्त्रालयबाट १ अर्व ४८ करोड रुपैयाँ बजेट सुनिश्चित भई नयाँ ठेक्कामार्फत निर्माण व्यवसायीले धमाधम काम गर्दै आएको छ।
निर्माण व्यवसायी थोदुङ हिम सगरमाथा जेभीले ८५ करोड रुपैयाँमा २०८१ कात्तिकमा तीन वर्षमा काम सक्ने गरी सडक स्तरोन्नतिको काम गर्दै आएको छ।
हाल निर्माण व्यवसायीले राम्दीदेखि मन्द्रानसम्मको सडक क्षेत्रमा धमाधम काम गरिरहेको छ।
निर्माण व्यवसायीले ठाउँठाउँमा सडक विस्तार तथा चौडा बनाउने, कटिङ गर्ने, टेवा पर्खालदेखि सडको तलमाथि सपोर्ट पर्खाल तथा नाली निर्माणलगायका कामहरू गर्दै आएको छ।
१७ किलोमिटर सडकमध्ये राम्दी क्षेत्रको दुई किलोमिटर र मन्द्रान क्षेत्रको एक किलोमिटर गरी तीन किलोमिटर पहाडमा ब्लास्टिङ गरेर सडकको काम गरिनेछ, अहिले राम्दी क्षेत्रको पहाडमा ब्लास्टिङको काम भइरहेको कालीगण्डकी करिडोर गैडाकोट राम्दी मालढुंगा सडक आयोजना पाल्पा कार्यालयका इन्जिनियर अरुणकुमार खत्रीले बताए।
राम्दी रानीमहल सडक खण्डमा निर्माण व्यवसायीबाट हालसम्म सन्तोषजनक काम भएको पाएका छांै, नियमित रूपमा कार्यालयबाट अनुगमन निरीक्षण भइरहेको छ, यही अवस्थामा काम भएमा र बजेटको सुनिश्चितता भएमा यसपटक निर्धारित समयभित्रै राम्दी रानीमहल क्षेत्रको काम सकिने र कालीगण्डकी करिडोर मालढुंगा गैंडाकोट खण्डको काम पूरा हुने सडक आयोजना पाल्पा कार्यालयकी डिभिजन प्रमुख कल्पना अधिकारी सुवेदीले बताइन्।
पाल्पा कार्यालयबाट हुने करिडोरको काम पाल्पाको राम्दी रानीमहल खण्डमात्र बाँकी रहेको काम पूरा हुने क्रममा रहेको छ।
गैंडाकोटदेखि राम्दीसम्मको १३२ किलोमिटर सडक पिच भई दुई वर्षदेखि नियमित रूपमा यातायात सञ्चालन हुँदै आएको छ भने रानीमहलदेखि अर्गली रिडीसम्मको सडक पनि कालोपत्रे भई नियमित रूपमा यातायात सञ्चालन हुँुदै आएको छ।
यसैगरी करिडोरको गुल्मी रिडीदेखि अरबेनीसम्मको सडक कालोपत्रे भइसकेको छ।
गुल्मीको अरबेनीदेखि बागलुङको बलेवा एयरपोर्टसम्मको सडक स्तरोन्नतिको काम सकी कालोपत्रे भइरहेको सडक आयोजना पाल्पा कार्यालयकी डिभिजन प्रमुख अधिकारीले बताइन्।
सडक आयोजना कार्यालय पाल्पाले हेर्ने गंैडाकोट राम्दी मालढुंगा सडकखण्डको राम्दी रानीमहलबाहेकको अन्य क्षेत्रमा नियमित रूपमा यातायात सञ्चालन हुँुदै आएको छ।
राम्दी रानीमहल सडक खण्डको काम समयमा पूरा भएमा उत्तर दक्षिण लोकमार्ग चीनको सिमाना कोराला नाकादेखि भारतीय सिमान गैंडाकोट त्रिवेणीसम्मको यात्रा सहज हुनेछ।