इको भ्यान दुर्घटना

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानाको गुइठेभिरमा बुधबार दिउँसो भएको इको भ्यान दुर्घटनामा एकजनाको मृत्यु र तीनजना घाइते भएका छन्।

दानाको सुकेबगरदेखि नारच्याङतर्फ जाँदै गरेको बा.६च ४९४४ नम्बरको इको भ्यान सडकबाट कालीगण्डकी नदीको किनारमा खसेर दुर्घटना भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ।

दुर्घटनामा  अन्नपूर्ण गाउँपालिका– ४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए।

 दुर्घटनामा परेर सख्त घाइते ५० वर्षीया रूपा पुन, ४२ वर्षीया नमिता चोचाङी र ५२ वर्षीया विष्णुकुमारी बुढाथोकीलाई उद्दार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको छ ।

नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रुहरू चढेको भ्यान सडकदेखि करिब १५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेल नेतृत्वको टोलीले घटनास्थल पुगेर दुर्घटनाबारे अनुसन्धान थालेको छ ।

दुर्घटनाका कारण अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा बुधबारदेखि सुरु गर्न लागिएको प्रथम तरुण कप भलिबल प्रतियोगिताको कार्यक्रम स्थगित भएको छ।

तरुण दल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले कार्यक्रम स्थलनजिकै भएको दुर्घटनामा स्थानीय व्यक्तिको निधन र घाइते भएकाले खेलकुद प्रतियोगिताको बुधबारका कार्यक्रम स्थगित गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *