बम राखेको धम्की आएपछि न्यूयोर्कबाट दिल्लीका लागि उडेको अमेरिकन एयरलाइन्सको उडानलाई रोम डाइभर्ट गरिएको थियो । अनुसन्धानपछि विमानलाई फेरि उडान गर्न अनुमति दिइएको छ ।
यस उडानमा १९९ यात्रु र १५ जना चालक दलका सदस्य थिए । ‘सुरक्षा कारणले गर्दा फ्लाइट एए २९२ रोमको लियोनार्डाे दा भिन्ची अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो ।
चेक जाँचका क्रममा सबै कुरा ठिक भेटियो । उडान रातभर विमानस्थलमा रहने र यसलाई बिहान सकेसम्म चाँडो नयाँ दिल्ली पठाइनेछ’ एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ ।
उक्त उडान फेब्रुअरी २२ मा न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो ।
क्यास्पियन सागर पार गरेपछि विमान अचानक युरोपतिर फर्कियो ।
चालक दलले सुरक्षा समस्याको रिपोर्ट गरेपछि फेब्रुअरी २३ आइतबार स्थानीय समय अनुसार साँझ ५ः ३० बजे रोम विमानस्थलमा अवतरण गरिएको विज्ञप्तिमा भनिएको छ ।
सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा इटालियन वायुसेनाका विमानहरूले उडानलाई एस्कर्ट गरिरहेको देखिन्छ ।