चालु आर्थिक वर्षका सात महिनामा डिजेल आयात ६.६८ प्रतिशतले घटेको छ ।
पूर्वाधार निर्माण सुस्त भएको र औद्योगिक उत्पादन पनि बढ्न नसकेका कारण डिजेलको प्रयोग घटेको हो ।
आयल निगमको तथ्यांकअनुसार चालु आवको सात महिनामा डिजेलको आयातमा ६.६९ प्रतिशतले कमी आएको छ ।
गत वर्ष डिजेल ७ महिनामा १ लाख १४ हजार ३३५ किलोलिटर खपत भएको थियो । चालु आवको सोही अवधिमा १ लाख ६ हजार ६८६ किलोलिटर खपत भएको छ । यो ६.६८ प्रतिशत कम हो ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पूर्वाधार निर्माणमा कमी आएको र औद्योगिक क्षेत्रमा डिजेलको खपत घटेकाले यसको आयातमा गिरावट आएको जानकारी दिए ।
उनका अनुसार भारतमा नेपालको भन्दा डिजेलको मूल्य कम छ । भारत पुगेका सवारीसाधनले मूल्यका कारण उतै डिजेल किनेर आउँछन् ।
नेपालमा डिजेलको आयात कम हुनुमा यो पनि एउटा कारण हो ।
उनका अनुसार नेपाल आउने भारतीय सवारीसाधनले पनि मूल्य सस्तोका कारण भारतबाटै डिजेल भरेर आउने गरेका छन् ।
‘अर्कोतर्फ पछिल्लो समय पूर्वाधार विकास राम्रोसँग हुन सकेका छैन,’ उनले भने, ‘निर्माणका कामले तिव्रता पाउँदा पेट्रोलियम पदार्थ खपत बढ्छ । ’
चालु आवमा पुँजीगत खर्चमा राम्रो सुधार छैन । यसैगरी औद्योगिक उत्पादन पनि क्षमताको आधा पुगेको छैन । यिनै कारणले डिजेलको खपतमा कमी आएको प्रवक्ता ठाकुरले जानकारी दिए ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आवको माघ ३० सम्म पुँजीगत बजेट खर्च लक्ष्यको १९.४३ प्रतिशत भएको छ ।
बजेटमा ३ खर्ब ५२ अर्ब रुपैयाँ छुट्याएकोमा माघसम्म जम्मा ६३ अर्ब ९२ करोड रुपैयाँ खर्च भएको छ ।
गत वर्ष यो बेला सरकारले लक्ष्यको २१.१६ प्रतिशत अर्थात् ६८ अर्ब ४१ करोड रुपैयाँ पुँजीगत खर्च गरेको थियो ।
निगमका अनुसार औद्योगिक क्षेत्रमा करिब ३० प्रतिशत डिजेल खपत हुने गर्छ ।
चालु आवमा पूर्वाधार क्षेत्रमा कमी र औद्योगिक क्षेत्र पूर्ण रुपमा सञ्चालनमा नआउँदा पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ ।
विगतमा विकासका कामको तीव्रता र औद्योगिक क्षेत्र पूर्ण रुपमा सञ्चालन हुँदा हरेक वर्ष करिब १० प्रतिशतले पेट्रोलियम पदार्थ आयात वृद्धि हुने गरेको थियो ।
चालु आवमा अर्थतन्त्र चलायमन नहुँदा पेट्रोलियम पदार्थ आयातमा कमी आएको हो ।
पछिल्लो समय विद्युतीय सावरीसाधनको प्रयोग बढे पनि पेट्रोलको आयातमा भने कमी आएको छैन । निगमको तथ्यांकअनुसार चालु आवको सात महिनामा पेट्रोल आयात ९.४९ प्रतिशत बढेको छ ।
गत वर्ष सात महिनामा ५७ हजार हजार ५५० किलोलिटर पेट्रोल खपत भएकोमा चालु आवको सोही अवधिमा ६३ हजार १५ किलोलिटर खपत भएको छ ।
यसैगरी खाना पकाउने एलपी ग्यास खपत २.९३ प्रतिशत बढेको छ । गत वर्ष सात महिनामा ४३ हजार ६९८ टन ग्यास आयात भएकोमा चालु आवको सोही अवधिमा ४४ हजार ९७९ टन आयात भएको छ ।
यसैगरी पछिल्लो समय हवाई इन्धनको आयात पनि बढेको छ । गत वर्षको तुलनामा ६ प्रतिशतले हवाई इन्धनको आयात बढेको हो ।
निगमका अनुसार गत वर्षको सात महिनामा हवाई इन्धन १६ हजार ५२५ हजार किलोलिटर आयात भएको थियो । चालु आवको सोही अवधिमा १७ हजार ५१७ किलोलिटर आयात भएको छ ।