घोराही–तुलसीपुर चार लेन सडक निर्माण

दाङको घोराही–तुलसीपुर जोड्ने चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ ।

भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का ६ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो ।

तर, उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन ।

पछिल्लोपटक ०७८ साल फागुन २६ गतेदेखि श्रेष्ठ कन्स्ट्रक्सनलाई सडक निर्माणको जम्मेवारी दिइएको थियो ।

उक्त कम्पनीले पनि सडकका दायाँबायाँ ठुल्ठुला खाल्डा बनाएर काम छाडेको भन्दै चौतर्फी विरोध भएपछि नेपाल सरकारले उक्त ठेक्का सम्झौता तोडेको थियो ।

अहिले पुनः नेपाल सरकारकै लागतमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले ठेक्का आह्वान गरेको हो । आयोजनाको लागत रु. तीन अर्ब १९ करोड रहेको छ ।

मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर दीप बाराहीका अनुसार यही फागुन ३० गतेसम्म आवेदन गर्ने अवधि छ ।

उनका अनुसार विगतजस्तो कतै चार लेन र कतै दुई लेन नभई सबै खण्डमा चार लेनको सडक हुनेछ ।

विगतमा बजार क्षेत्रमा दुई लेन मात्रै सडक बनाउने प्रस्ताव थियो ।

घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्मको २१ किलोमिटर सडकखण्ड ३० मिटर चौडाइको हुनेछ ।

सम्झौता भएको ३६ महिनाभित्र काम सक्ने गरी आयोजनाको काम अघि बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *