माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ।

हाइड्रो इम्पाएर प्रालिले मुदीको घिम्लेटी, नाउरा, चेचुङ र सिंकोस दोभान क्षेत्रमा निर्माण गर्न लागेको आयोजनाको मुख्य सुरुङमार्ग बनाउन सुरु भएको हो।

आयोजनाको बाँध सिंकोस दोभानमा रहनेछ।

यस्तै, घिम्लेटीमा रहने विद्युत् गृहसम्म पानी ल्याउन निर्माण गरिने चार किलोमिटर लामो सुरुङको सोमबार गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुुग्जालीले शिलान्यास गरेका हुन्।

आयोजनाको लागि आवश्यक पहुँच मार्ग, पुल, आवास तथा बंकर घरलगायतका आधारभूत पूर्वाधार तयार भइसकेको आयोजना प्रमुख रमेश सुवेदीले जानकारी दिए।

उनका अनुसार चैत ०८३ भित्र आयोजना निर्माण सक्ने र उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ।

आयोजनाको बाँध र अडिटबाट सुरुङ निर्माण सुरु भएको छ भने आउटलेटको अडिटबाट समेत सुरुङ खन्न सुरु गर्ने तयारी भइरहेको छ।

म्याग्दी नदीको किनारमा पहाडभित्र भूमिगत बालुवा थिग्र्याउने पोखरी, हेडरेस सुरुङ बन्ने आयोजनाको विद्युतगृह म्याग्दी खोला र मुदी खोलाभन्दा एक किलोमिटरमाथि निर्माण हुनेछ।

आउटलेटदेखि विद्युत् गृहसम्म सात सय ९७ दशमलब ९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ।

कुल ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार लागत अनुमान गरिएको आयोजनामा प्रवर्द्धक र सर्वसाधारणको सेयरबाहेक सिद्धार्थ बैंकको नेतृत्वमा नेपाल एसबिआई, सिटिजन्स बैंक इन्टरनेसनल, एभरेस्ट बैंक र नबिल बैंकको पाँच अर्ब ३४ करोड ८८ लाख ९८ हजार लगानी रहनेछ।

आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहनेछ।

आयोजनाबाट दुई सय १५ दशमलव सात सय १४ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ।

उत्पादित विद्युत् विद्युत् गृहदेखि ९.२ दुई किलोमिटर टाढा रहेको १३३ केभी डाँडाखेत सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणमा जोडिने आयोजना प्रमुख सुवेदीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *