महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।
कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहजरूपमा आवतजावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो ।
दर्शनार्थी एवम् भक्तजनका सवारीसाधनहरूको पार्किङ तिलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरीपारि कोरिडोर सडकमा मिलाइएको छ भने बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्रहरू पार्किङ हुनेछन् ।
त्यसैगरि पशुपति क्षेत्रविकास कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारीसाधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारीसाधनहरूलाई पार्किङ व्यवस्था मिलाइएको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारीसाधनहरू छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ ।
धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवतजावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको उनले जानकारी दिए ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारीसाधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिने उनले बताए ।
गौशालामा सवारी निषेध गर्नुपरेमा वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गर्ने र त्यसका लागि कोरिडोर र भित्री सडकहरूमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाएको घिमिरेले जानकारी दिए ।
‘सदाझै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरूपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ ।
तर भक्तजनको भिडभाड अत्यधिक भई सवारी आवागमनमा समस्या हुने अवस्था भएको खण्डमा मात्र डाइभर्सनको नीति अवलम्बन गरी वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालनको व्यवस्था मिलाएको छौँ’, उनले भने ।
तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालबाहक सवारीसाधनलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।
गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जयबागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने छ ।
सम्भावित सवारीसाधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिएको जनाइएको छ ।
आफ्नो सवारीसाधनलाई सुरक्षित स्थानमा राखिदिनु हुन समेत ट्राफिक प्रहरीले आग्रह गरेको गरेको छ ।
शिवरात्रि पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउनको लागि प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा कमाण्ड सेन्टर राखी आठ सय ९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ ।
आवश्यकताअनुसार ट्राफिक चापलाई मध्यनजर गर्दै थप प्रहरी समेत खटाइँदै जाने ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय बहादुर राउतले जानकारी दिए ।