सप्तरीको राजविराजदेखि तोपा, हनुमाननगर हुँदै भारदहसम्मको साढे आठ किलोमिटर सडक निर्माणको काम अलपत्र परेको छ ।
ठेकेदार कम्पनीले विभिन्न बहानामा निर्माणमा गति दिन नसक्दा सडक निर्माण अलपत्र परेको हो । समयमा सडक नबन्दा आवतजावतमै समस्या भएको छ ।
वर्षामा हिलो र सुक्खामा धूलोका कारण सडक छेउका बजार र बस्तीका बासिन्दालाई समस्या भएको छ ।
सडक डिभिजन कार्यालय लहानले गरेको टेन्डरअनुसार साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि शम्भुनाथ सप्तरीले २५ करोड ७१ लाख ४६ हजार रुपैयाँमा ठेक्का कबोल गरी २०७९ असार २३ मा निर्माणको सम्झौता गरेको थियो ।
२०८१ असारभित्र निर्माण सक्नुपर्ने सडक सुरु भए पनि कामले गति लिन सकेन । कार्यालयले फेरि एक वर्षको ठेक्का म्याद थप गरेको थियो ।
सडक विभागअन्तर्गतको संघीय सुरपरिवेक्षण तथा अनुगमन कार्यालय सुनसरीका तत्कालीन प्रमुख रवीन्द्रलाल दासले ठेक्काको म्याद २०८२ असारसम्म थपिदिएको यस सडकको प्राविधिक काम हेरिरहेका सडक डिभिजन कार्यालय लहानका इन्जिनियर दिलीपकुमार यादवले जनाए ।
अहिले राजविराज–हनुमाननगर–भारदह खण्डअन्तर्गत झल्ही नहरको पुलदेखि साढे आठ किलोमिटरसम्म काम गर्नुपर्ने उनको भनाइ छ ।
महेन्द्र राजमार्गको भारदहदेखि राजविराजसम्म जोड्ने यो सडक क्षतिग्रस्त भएपछि नयाँ टेन्डर गरिएको उनले बताए ।
यस पटक सडक किनाराको पर्खाल, पक्की नाला, साना कल्भर्टसहित पुरानो क्षतिग्रस्त सडकलाई उप्काएर नयाँ कालोपत्र गर्नुपर्ने इन्जिनियर यादवले जनाए ।
म्याद थपपछि पनि ठेकेदारले काममा भने तीव्रता दिएका छैनन् । यस सडकको अहिलेसम्म भौतिक प्रगति १५ प्रतिशत मात्र रहेको इन्जिनियर यादवको भनाइ छ ।
वित्तीय प्रगति भने १४ दशमलव ९ प्रतिशत रहेको उनले बताए । थपिएको म्यादमा पनि काममा तदारुकता नदेखाएको ठेकेदार कम्पनीले सडक र नाला खनेर छाडेका कारण आउजाउमा समस्या भएको छ ।
थपिएको म्याद सकिनै झन्डै साढे ४ महिना बाँकी रहँदा १५ प्रतिशत मात्र काम हुनुले सडक निर्माणको सुस्ततालाई प्रस्ट्याएको छ ।
यता ठेकेदार कम्पनीले भने आफूहरूले काम गरिरहेको दाबी गरेको छ ।
आफूहरूले काम गरे पनि सडक कार्यालयले भुक्तानी नदिने गरेका कारण समस्या भएको साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि शम्भुनाथ सप्तरीका सञ्जीव साहको आरोप छ ।
तर सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णले ठेकेदार साहले झूट बोलेको प्रतिक्रिया दिए ।
‘बिलको भुक्तानी बाँकी छैन, थपिएको म्यादमा पनि काम सक्नेतर्फ ठेकेदारले तदारुकता देखाएका छैनन्,’ कर्णले भने, ‘अब कारबाही प्रक्रिया अघि बढाउँछौं ।’
Post Views: 238