बिपी राजमार्ग पुनर्निर्माण

अर्थ मन्त्रालयबाट स्रोत सहमति पाएसँगै सडक विभागले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माणको काम तत्काल अघि बढाउने तयारी गरेको छ ।

मंगलबार अर्थ मन्त्रालयले बिपी राजमार्गको पुनर्निर्माणका लागि साढे आठ अर्ब रुपैयाँ स्रोत सहमति दिएको छ ।

योसँगै सडक विभागले त्यसको पुनर्निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी गरेको छ । विभागले अर्थ मन्त्रालयसँग नौ अर्ब ६६ करोडको बजेट सहमति मागेको थियो ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले द्रुतगतिमा बिपी राजमार्गको स्थायी पुनर्निर्माणको प्रक्रिया अघि बढाउने बताए ।

पुनर्निर्माणका लागि जापानबाट पनि आर्थिक सहयोग आउनेमा आशा गरिएको छ ।

जापानकै आर्थिक तथा प्राविधिक सहयोगमा बनेको सडक पुनर्निर्माणमा जापानले पनि सहयोग गर्ने अपेक्षा गरिएको हो ।

तर, त्यसमा ढिलाइ हुने भए पनि नेपालले आफ्नै बजेटमा यसको पुनर्निर्माण गर्न लागेको हो ।

अब छिट्टै टेन्डर आह्वान हुने विभागको भनाइ छ । त्यसमा निर्माण कम्पनीले ठेक्का प्रस्ताव गर्ने अवधि पनि कम राख्ने तयारी गरिएको छ ।

यसका लागि मन्त्रिपरिषद्सँग सहमति माग्ने तयारी छ । ‘अर्थ मन्त्रालयबाट साढे आठ अर्ब रुपैयाँको स्रोत सहमति आएसँगै पुनर्निर्माणका लागि बजेटको समस्या नहुने भयो ।

अब तत्काल टेन्डर आह्वान गर्नेछौँ,’ उनले भने, ‘त्यसमा पनि टेन्डर पेस गर्ने अवधि कम राख्नेछौँ ।

यसका लागि मन्त्रिपरिषद्सँग पनि सहमति माग्दै छौँ । खुला प्रतिस्पर्धा हुने गरी कम अवधिमै ठेक्का सम्झौता गर्नेछौँ ।’

टेन्डर आह्वान गर्नका लागि अधिकांश तयारी पूरा भइसकेको छ । पुनर्निर्माणको डिजाइन पनि अन्तिम चरणमा पुगेको छ ।

पहिलाको भन्दा धेरै चौडाइमा सडक बनाउने गरी डिजाइन गरिएको छ । साथै, आगामी दिनमा आउन सक्ने ठुला बाढीलाई पनि थेग्ने गरी डिजाइन गरिएको महानिर्देशक पोखरेलले जानकारी दिए ।

सडकको पुनर्निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्ने अनुमान गरिएको छ ।

चालू आवमै ठेकेदार कम्पनीले काम सुरु गर्न सक्ने गरी टेन्डर प्रक्रिया अघि बढाउने विभागका प्रवक्ता अर्जुन अर्यालले बताए ।

‘अब एक–दुई दिनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागबिच छलफल हुनेछ ।

त्यसपछि टेन्डर आह्वान गर्नेछौँ,’ उनले भने, ‘ठेकेदार छनोटमा पनि समय लगाउनेछैनौँ ।

बर्खामा त काम गर्न सकिन्न । बर्खा आउनुभन्दा अघि ठेकेदार कम्पनीले एक–दुई महिना काम गर्न सक्ने गरी टेन्डर प्रक्रिया अघि बढाउनेछौँ ।’

१०–१२ असोजको वर्षाले रोशी नदीमा आएको बाढीका कारण बिपी राजमार्गको काभ्रेपलाञ्चोकको रोशीदेखि नेपालथोकसम्ममा विभिन्न ठाउँमा गरेर १३ किलोमिटर सडक क्षतिग्रस्त भएको छ ।

त्यसमा ८.५ किमि सडकको नामोनिसान नै थिएन ।  २५ असोजदेखि अस्थायी रुट बनाएर उक्त राजमार्गमा यातायात सञ्चालन भइरहेको छ ।

साथै, अस्थायी रूपमा क्षतिग्रस्त खण्डको मर्मतको काम पनि अघि बढाइएको छ । तर, सडकलाई सामान्य अवस्थामा ल्याउन पुनर्निर्माण नै गर्नुपर्ने थियो ।

विभागसँग बाढीपहिरो क्षतिग्रस्त हुने सडकको पुनर्निर्माण तथा मर्मत गर्न नियमित बजेट नै हुन्छ । तर, बाढीले यो सडक खण्डलाई नमज्जाले क्षतिग्रस्त बनाएको थियो ।

त्यसको पुनर्निर्माण नै गर्नुपर्नेछ । त्यसका लागि पनि साढे नौ अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।

तर, यसका लागि विभाग मर्मत सम्भारका लागि छुट्याइएको बजेटले पनि पुग्ने अवस्था पनि थिएन । त्यसैले पुनर्निर्माणका लागि अर्थ मन्त्रालयसँग स्रोत सहमति लिनुपरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *