भक्तपुर–नगरकोट सडक अब कसरी बन्छ ?

पर्यटकीय आकर्षणको प्रमुख केन्द्र हो भक्तपुरको नगरकोट तर भक्तपुरदेखि नगरकोट जाने सडक एक दशकदेखि निर्माण हुन सकेको छैन ।

कुल लम्बाइ १५.६६ किलोमिटर रहेको यो सडक निर्माणका लागि २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त रूपमा निर्माण गर्नेगरी सम्झौता भएको थियो ।

यो सडक निर्माणमा भ्याटसहित ३१ करोड ५० लाख ७७ हजार रुपैयाँ लागत लाग्ने अनुमान थियो ।

एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा २०७३ असार ३ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि सो अवधिमा निर्माण पूरा नभएपछि पटक–पटक गरी नवौँ पटकसम्म म्याद थप गरिएको छ ।

तीन टोलीको अनुगमन, काम छिटो सक्न निर्देशन  

तोकिएको समयमा निर्माण हुन नसकेको उक्त सडक ५ वर्षपछि तत्कालीन प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिले अनुगमन गरेको थियो ।

२०७६ साउन १३ गते अनुगमन गरेको उक्त समितिले सन् २०२० को नेपाल भ्रमण वर्ष अघि सडक कालोपत्रे सम्पन्न गर्न निर्देशन दिएको थियो । यद्यपि सो निर्देशन पालना भएन ।

यसपछि २०७८ कात्तिक २८ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवसहितको टोली उक्त सडक अनुगमनका लागि पुगेको थियो ।

यादवले  सडकको अनुगमन गरी दुई महिनाभित्र निर्माण सम्पन्न नभए ठेक्का रद्द गरेर कम्पनीलाई कारबाही गर्ने बताएकी थिइन् तर न सम्झौता रद्द भयो, न त कारबाही  नै ।

फेरि २०७९ फागुन १८ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले उक्त सडकको अनुगमन गरेको थियो ।

उक्त अनुगमनपछि तत्कालीन मन्त्री श्रेष्ठले फागुन महिनाभित्र सडक निर्माण नसके कारबाही र ठेक्का रद्द गरिने चेतावनी दिए ।

यद्यपि, न समयमा सडक निर्माण पूरा भयो न त लापर्बाही गर्ने ठेकदारमाथि कारबाही ।

भक्तपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिसहितको टोलीले यहाँको अवस्था अनुगमन गरेको छ ।

टोलीले गुणस्तरहीन काम भएको निष्कर्ष निकालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *