गत असोजमा बाढीले बगाएको तातोपानी नाकाको लिपिङ बजार जोड्ने बेलिब्रिज सोमबारबाट सञ्चालनमा ल्याइएको छ ।
नेपाली सेनाको प्राविधिक सहयोगमा ६ दिन–रात गरेर ४५ दशमलव ७२ मिटर लामो लिपिङखोला बेलिब्रिज आइतबार साँझ तयार गरिएको हो ।
सेनाका नम्बर २६ बाहिनीपति सहायक रथी अशोक गुरुङले सोमबार २८ टन भारवहन क्षमताको बेलिब्रिजको उद्घाटन गरे ।
सेनाले सडक डिभिजन कार्यालयलाई बेलिब्रिज हस्तान्तरण गरेसँगै सीमाक्षेत्रको बजारबाट यातायात सञ्चालन भएको छ ।
गत असोजमा लिपिङखोला र भोटेकोशीमा आएको बाढीले यहाँ पुल बगाएको थियो । बाढीको केही समयमै लार्चार्मा ह्युमपाइप राखेर यातायात सञ्चालनमा ल्याइएको थियो ।
लिपिङमा बेलिब्रिज जोडिएपछि सीमावासी र व्यवसायी उत्साहित भएका छन् ।
‘यसअघि लिपिङ पुलको कुनाबाट कच्ची सडक जोडेर चलाइए पनि जोखिमपूर्ण यात्रा गर्नुपरेको थियो, बेलिब्रिज जोडिएसँगै नाका पनि सञ्चालनमा आएको छ,’ भोटेकोशी–२ का वडाध्यक्ष कुमार श्रेष्ठले भने ।
यसअघि नेपाल–चीनका अधिकारीबीच भएको अनौपचारिक छलफलअनुरूप माघ ६ देखि आइतबारसम्म नाका बन्द रहेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जनाए ।
बेलिब्रिज निर्माण पूरा भएपछि नाका पहिलेझैं सञ्चालनमा आएको छ ।
सीमाक्षेत्र तातोपानीमा बेलिब्रिज, ह्युमपाइपबाहेक तातोपानी क्षेत्रमा बनाएको मितेरी पुलछेउको छोटी भन्सार कार्यालयको सानो भवन मात्रै छ ।
यसबाहेक सरकार र अन्य पक्षबाट सीमाक्षेत्रको भौतिक पूर्वाधारका लागि केही काम नभएको गुनासो छ ।
तातोपानी नाका जोड्ने सडक कोदारी राजमार्ग (२६ किलोमिटर) दर्जनौं स्थानमा बाढीपहिरो, खाल्डाखुल्डीले जोखिमपूर्ण बनेको छ ।
‘तातोपानी नाकामा सरकारले केही गरेको देखिँदैन, यहाँको बजार खण्डहर छ, अन्तर्राष्ट्रिय नाका जोड्ने कोदारी राजमार्गको बेहाल छ,’ भोटेकोशी–२ का स्थानीय साङ्बो शेर्पाले गुनासो गरे ।
२०७२ को भूकम्प, परकम्प र भोटेकोशी बाढीपहिरोपछि नाका खुलाउन पहल भइरहेका बेला २०७३ असार २१ मा बाढीले सडक र सीमाका ८० वटा घर बगाएर कोदारी राजमार्ग तहसनहस बन्यो ।
२०७४ मा चिनियाँ ठेकेदारबाट निर्मित लार्चास्थित मोटरेबल पुल माथिल्लो सुक्खा पहिरोले थुनिएर भोटेकोशी नदीमा बगेको थियो ।
त्यसलगत्तै केही समयपछि बेलिब्रिज जडान गरिएको थियो ।
यसअघिका बर्खामा क्षति मात्रै भइरहेको लिपिङ बजार जोड्ने लिपिङ पुल गत असोजमा लिपिङ खोलाको बाढीले पूरै बगाएको थियो ।
Post Views: 241