तमोर नदीमाथि एक सय दुई मिटर लम्बाइको लिम्बुनी पुल निर्माण थालेको आठ वर्ष बितिसक्दा एकछेउमा पिलर मात्रै ठडिएको छ ।
भारत–नेपाल–चीन जोड्ने त्रिदेशीय मार्गअन्तर्गत ताप्लेजुङ हुँदै टिप्ताल जोड्ने तमोर नदीमाथि एक सय दुई मिटर लम्बाइको पुल बनाउन ६ फागुन ०७४ मा ठेक्का सम्झौता भएको थियो ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ र पाँचथरको हिलिहाङ जोड्ने सो पुल साढे तीन वर्ष (असार ०७७) मा सक्नुपर्ने भए पनि अहिले ताप्लेजुङतर्फ एउटा पिलर मात्र खडा गरिएको छ ।
२२ करोड ६ लाख ४२ हजार आठ सय ८९ रुपैयाँमा आरई÷सपना याक्थुङ जेभीसँग ठेक्का सम्झौता भएयता चारपटक म्याद थपिए पनि पुल निर्माणमा बल्ल २२ प्रतिशत मात्रै प्रगति भएको तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक आयोजना कार्यालय, ताप्लेजुङका सूचना अधिकारी इन्जिनियर वसन्तकुमार राईले जानकारी दिए ।
‘कोभिड–१९ ताका एक वर्ष ढिला हुन जानु स्वाभाविक थियो । त्यसबाहेकको ढिलाइमा भने निर्माण कम्पनीकै लापरबाही प्रमुख कारण हो,’ उनले भने ।
तोकिएको मितिमा निर्माण सम्पन्न नभएपछि पहिलोपटक २८ कात्तिक ०७८ र दोस्रोपटक सोही वर्ष चैत मसान्तसम्मका लागि समय थप गरे पनि निर्माणले गति नलिएको उनले जानकारी दिए ।
‘तेस्रोपटक ३१ असार ०८१ सम्म र चौथोपटक आगामी १९ जेठका लागि म्याद थप भएको छ । तर, अहिले थप भएको म्यादमा पनि काम सकिने छाँटकाँट छैन,’ उनले भने ।
पुल तरेर एउटाबाट अर्को जिल्ला आवतजावत गर्ने आसमा बसेका स्थानीय भने निर्माणले गति नलिँदा दिक्क छन् ।
पछिल्लो समय पुल निर्माणका लागि दबाब बढाउन थालेको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू दिपेनले बताए ।
‘पुल निर्माण थालेको लामो समय भयो, तर प्रगति देखिएको छैन,’ उनले भने ।
पुल निर्माणले पूर्णता पाए पूर्वी पहाडी जिल्लाहरू धनकुटा, ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुमका स्थानीयलाई आवतजावत र मालसामान ढुवानीमा सहज हुने अध्यक्ष पोमूले बताए ।