पानामा नहर भएर चल्ने अमेरिकी जहाजहरूले कुनै शुल्क तिर्नु नपर्ने र यसले अमेरिकालाई हरेक वर्ष लाखौं डलर बचत गर्ने अमेरिकाले बताएको छ ।
अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जालमा यो जानकारी दिएको हो ।
समाचार एजेन्सी एएफपीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी दबाबपछि अमेरिकी जहाजहरूलाई कुनै शुल्क बिना पनामा नहरबाट जान अनुमति दिइएको बताइएको छ ।
अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएपछि ट्रम्पले आफ्नो पहिलो भाषणमै पनामा नहर चीनले चलाइरहेको दाबी गरेका थिए ।
पनामा नहरबाट गुज्रने अमेरिकी जहाजहरूलाई लिइने कथित ठूलो शुल्कलाई उद्धृत गर्दै बल प्रयोग गरेर यसलाई फिर्ता लिने धम्की पनि ट्रम्पले दिएका थिए ।
‘चीनले पानामा नहर सञ्चालन गरिरहेको छ र हामीले यो चीनलाई दिएका होइनौँ ।
हामीले यस नहर पानामालाई दिएका थियौँ र हामी यसलाई फिर्ता लिइरहेका छौँ ।’ उनले भनेका थिए ।
८२ किलोमिटर लामो पानामा नहर मध्य अमेरिकाको मध्य भागबाट बग्छ । यो प्रशान्त र एट्लान्टिक महासागरहरूलाई जोड्ने मुख्य कडी हो ।
प्रत्येक वर्ष लगभग १४ हजार जहाजहरूले यस नहरलाई सर्टकटको रूपमा प्रयोग गर्छन् । नहर बन्नुअघि ती जहाजहरूले दक्षिण अमेरिका हुँदै लामो र महँगो यात्रा गर्नुपर्थ्यो ।