स्तरोन्नतिका लागि दैनिक १४ घण्टा मात्र सञ्चालन हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि १६ घण्टा सञ्चालनमा आउने भएको छ । धावनमार्गबाट ७५ मिटरभित्र पर्ने संरचना निर्माण कार्य सकिएकाले विमानस्थल सञ्चालन अवधि बढाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
‘शनिबारदेखि आठ घण्टा (राति ११ बजेदेखि बिहान ७ बजेसम्म) मात्र बन्द गरेर स्तरोन्नतिको काम गरिनेछ’ प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने । २३ कात्तिकदेखि दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) विमानस्थल बन्द गरेरै स्तरोन्नतिको काम हुँदै आएकोमा अहिले सञ्चालन अवधि बढाइएको हो ।
प्राधिकरणका अनुसार विमानस्थलमा ट्याक्सी वे, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जहाज पार्किङस्थल, ह्यांगरलगायतका पूर्वाधार निर्माण भइरहेको छ । स्तरोन्नतिका कारण त्रिभुवन विमानस्थलबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म हुने उडानहरू अगाडि–पछाडि सारिएको छ भने ३३ प्रतिशत उडान कटौती गरेर भैरहवा डाइभर्ट गरिएको छ ।
धावनमार्गबाट ७५ मिटरभित्र पर्ने संरचनाको काम भने आगामी १८ चैतभित्र सक्ने लक्ष्य राखिएको छ । हालसम्म करिब ४० प्रतिशत काम सकिएको प्राधिकरणले जनाएको छ ।
विमानस्थलको पूर्वतर्फ सेना, वायुसेवा निगम, यती एयरलाइन्स, सौर्य एयरलाइन्सलगायतका लागि ह्यांगर निर्माण भइरहेको छ । पहिलो चरणको काम सकिएपछि वार्षिक एक करोड यात्रुलाई सेवा दिने पूर्वाधार तयार हुने विमानस्थलमा क्षमता अभिवृद्धि परियोजनाले जनाएको छ ।