कति सुध्रियो त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था ? : काठमाडौंबाट भारतको नयाँ दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको आइसी ८१४ विमान अपहरण भएको २५ वर्ष पुगेको छ ।
त्यसयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार प्रणालीमा धेरै सुधार भए पनि त्यो अझै पर्याप्त नभएको सुरक्षाविद्हरूले बताएका छन् ।
९ पुस २०५६ ( २४ डिसेम्बर १९९९) मा काठमाडौंबाट दिल्लीका लागि उडेको विमान आतंकवादी समूहले अपहरण गरेका थिए ।
सो घटनापछि नेपालको समग्र सुरक्षामाथि नै अन्तर्राष्ट्रियस्तरबाट प्रश्न उठ्ने मात्र होइन, भारतले त आफ्नो देश जाने यात्रुमाथि छुट्टै जाँचसमेत गर्दै आएको छ ।
यसले नेपालको अन्तर्राष्ट्रिय छविमै धक्का लागेको थियो । विमान अपहरण घटनापछि विमानस्थलको सुरक्षा प्रणालीमा धेरै सुधार भइसकेको प्रहरी अधिकारीहरू बताउँछन् ।
तर, विमानस्थलमा बारम्बार सुरक्षा चुकका घटना भने दोहोरिरहेका छन् ।
सरकारका अध्ययन प्रतिवेदनमा पनि विमानस्थलको सुरक्षामा अझै सुधार आवश्यक रहेको भनी उल्लेख छ ।
नेपाल प्रहरीका अवकाशप्राप्त एआइजी बमबहादुर भण्डारी दक्षिण एसियामा आतंकवादी समूहहरूको गतिविधि रहेकाले चनाखो हुनुपर्ने बताउँछन् ।
पहिलेको तुलनामा हाम्रो विमानस्थलको सुरक्षामा धेरै नै सुधार भएको छ,’ उनले भने, ‘तर, दक्षिण एसिया आतकंवादी समूहहरू सक्रिय भएकाले अन्तर्राष्ट्रिय सहकार्य गरी शंकास्पद व्यक्तिमाथि निरन्तर निगरानीको संयन्त्र बलियो बनाउनुपर्छ ।’
विमानस्थलमा अत्याधुनिक प्रविधिको प्रयोगसँगै कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्नेमा उनको जोड छ ।
हवाई सुरक्षाविद् भरत ढकाल पनि सो अपहरण घटनापछि नेपालको विमानस्थलको सुरक्षामा धेरै सुधार भइरहेको बताउँछन् ।
‘शतप्रतिशत राम्रो छ भनेर कतै पनि भन्न सकिन्न । जोखिम सधैँ भइ नै रहन्छ ।
त्यसकारण हामी अझै चनाखो भइरहनुपर्छ । सुरक्षामा राज्यले लगानी बढाउनुपर्छ,’ उनले भने ।
विमानस्थलमा कार्यरत कर्मचारीहरू आपराधिक समूहसँग मिल्ने गरेकाले यो सुरक्षा प्रणालीको मुख्य चुनौती देखिएको राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारी बताउँछन् ।
सुन तस्करीलगायत घटना प्रहरी, भन्सारका कर्मचारी तथा विमानस्थलका अन्य कर्मचारीको पनि बारम्बार मिलेमतो देखिएको छ ।
आपराधिक समूहले त्यस्ता कर्मचारीलाई प्रभावमा पारी गलत काम गर्न सक्ने भएकाले विमानस्थलभित्रको आन्तरिक नियमन र नियन्त्रण प्रणालीमा पनि सुधार आवश्यक रहेको भनेर विभिन्न छानबिन समितिले समेत औँल्याएको छ ।